साप्ताहिक संवाददाता
अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै यसपालि विश्वकप फुटबलमा भीएआर (भर्चुअल एसिस्टेन्ट रेफ्री) प्रविधिको प्रयोग हुँदैछ । भिडियो एसिस्टेन्ट रेफ्रीले यसपालिको विश्वकप फुटबलका ६४ वटै खेलका अफिसियलहरूलाई मद्दत गर्नेछन् भने भीएआरको टिम मस्कोस्थित केन्द्रीकृत भिडियो अपरेसन कोठामा हुनेछ । भिडियो एसिस्टेन्ट रेफ्रीसँग सबै ब्रोडकास्ट क्यामेरा र दुईवटा अफसाइड क्यामेराको पहुँच हुनेछ । यद्यपि भिडियोले खेलमा कुनै पनि निर्णय गर्नेछैन, बरु रेफ्रीलाई कुनै निर्णयमा पुर्याउन मद्दतचाहिँ गर्नेछ ।
के हो भीएआर ?
भीएआर ती व्यक्तिहरूको समूह हो जसले मुख्य रेफ्रीले गरेका निर्णयलाई भिडियो मा रिप्ले हेरेर गल्ती भएको खण्डमा निर्णय लिन सहज बनाउँछ । समूहमा भिडियो एसिस्टेन्ट रेफ्री (जो खेलमै रेफ्री भैसकेको व्यक्ति हुन्छन्) र उनका सहायकहरू हुन्छन् जो निरन्तर रूपमा भिडियो अपरेसन गर्ने कोठामा रहेर खेललाई निगरानी गरिरहेका हुन्छन् ।
कस्तो बेला भीएआरको प्रयोग हुन्छ ?
१. गोल
खेलका बखत गोल भए–नभएको निर्णय गर्न यो प्रविधिको प्रयोग हुनेछ । अफसाइड र गोलमा भैरहने विवादलाई यसले साम्य गर्ने अनुमान सहजै गर्न सकिन्छ ।
२. पेनाल्टी निर्णय
पेनाल्टी दिने क्रममा कुनै गलत निर्णय हुन नदिन भीएआर प्रविधिको प्रयोग हुनेछ ।
३. रातो कार्ड सोझै दिने अवस्था
खेलाडीलाई सोझै रातो कार्ड दिनुपर्ने अवस्था सिर्जना भए भीएआर प्रविधिमार्फत घटनाको पुनरावलोकन गर्न सकिनेछ ।
४. गलत निर्णय
मुख्य रेफ्रीले अन्जानवश गर्ने गल्ती न्यूनीकरण गरेर त्यसलाई सच्याउन यो प्रविधिको प्रयोग गरिनेछ ।
एभीएआर–१
(असिस्टेन्ट भीएआर)
मुख्य क्यामेरासँगै काम गर्ने एभीएआर–१ ले भीएआरसँग मिलेर खेलको प्रत्यक्ष प्रसारण हेर्दै कुनै घटना भए भीएआरलाई जानकारी गराउनेछन् ।
एभीएआर–२
अफसाइड स्टेसनमा हुने सहायक रेफ्रीले एभीएआर–२ का रूपमा रहँदै अफसाइडको अवस्था आँकलन गर्छन् भने भीएआर चेकको प्रक्रियालाई चुस्त बनाउन भूमिका खेल्छन् ।
एभीएआर–३
टेलिभिजन कार्यक्रमको फिडलाई ध्यान दिँदै यी एसिस्टेन्ट रेफ्रीले भीएआरलाई मद्दत गर्दै भीएआर तथा अफसाइडमा रहेका एभीएआरसँग अन्तक्र्रिया गरिरहनेछन् ।
भीएआर टिम :
भीएआर टिममा एक जना भिडियो एसिस्टेन्ट रेफ्री तथा तीन जना सहायक भिडियो एसिस्टेन्ट रहनेछन् । सबै रेफ्री फिफाको उच्च पदमा रहेका म्याच अफिसियलहरू हुनेछन् ।
२०१८ को विश्वकप फुटबलका लागि फिफाले १३ जना रेफ्रीको चयन गरिसकेको छ जसले भिडियो एसिस्टेन्ट रेफ्रीका रुपमा काम गर्नेछन् ।
भीएआर
भीएआरले मुख्यत: मुख्य क्यामेराको अवलोकन गर्छन् । पूरै भीएआर टिमको नेतृत्व गर्ने निर्णायक निरन्तर रेफ्रीसँग पनि संवादमै रहनेछन् ।
भीएआरमा क्यामेराको प्रयोग
भिडियो एसिस्टेन्ट रेफ्रीको टिमसँग सबै क्यामेराको पहुँच हुन्छ । यी क्यामेरामा ३३ वटा ब्रोडकास्ट क्यामेरा हुनेछन्, जसमध्ये ८ वटा ‘सुपर स्लो मोसन’ ४ वटा ‘अल्ट्रा स्लो मोसन’ हुन्छन् । यसका अतिरिक्त यो समूहसँग २ वटा अफसाइड क्यामेराको पनि पहुँच हुन्छ, जसको पहुँच उनीहरूबाहेक अरू कसैसँग पनि हुँदैन । त्यस्तै नकआउट चरणमा गोलपोस्टको पछाडि रहने दुईवटा अतिरिक्त अल्ट्रा स्लो मोसन क्यामेराको पहुँच पनि भीएआर टिमसँग हुनेछ । स्लो मोसन क्यामेराको प्रयोग मुख्यत: खेलाडीबीच हुने शारीरिक प्रक्रिया, जस्तै जानीजानी अर्को खेलाडीलाई धक्का दिँदा कुन ठाउंमा कसरि छोइयो भनेर विश्लेषण गर्न प्रयोग हुन्छ ।
भिडियो एसिस्टेन्ट रेफ्रीले प्रत्येक खेल निरन्तर अवलोकन गर्दै ‘गेम चेन्ज’को अवस्था आए मुख्य रेफ्रीसँग सहकार्य गर्दै निर्णय प्रक्रियालाई सहजीकरण गर्न मद्दत गर्नेछन् । गोल हुँदा, पेनाल्टीको अवसर आउँदा वा कुनै विशेष कारणवश पेनाल्टी र गोल हुँदा, सोझै रातो कार्ड पाउने अवस्था आए वा कुनै गल्ती फेला परे भीएआरको टोली रेफ्रीलाई मद्दत गर्न सधै तत्पर रहनेछ ।
फिफा वल्डकप–२०१८ का रेफ्रीहरूलाई कुन समयमा भिडियो एसिस्टेन्ट रेफ्रीले दिएको जानकारी लिने, कुन समयमा निर्णय लिनुअघि भिडियो फुटेज हेर्ने भन्ने निर्देशन पनि दिइसकिएको फिफाले बताएको छ ।
भर्चुअल अफसाइड लाइन
अफसाइडको निर्णय निकै छोटो समयमा दिनुपर्ने हुनाले धेरैजसो समयमा अफसाइड विवाद पनि आइ नै रहन्छ । यही विवाद न्यूनीकरण गर्न यसपालिको वलर््डकपमा भर्चुअल थ्रीडी अफसाइड लाइन भिडियो रेफ्रीलाई उपलब्ध हुनेछ ।
भारको डेब्यु
जति बेलासम्म अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नेतृत्व सेप ब्लाटरको हातमा थियो, उनले यो खेलमा प्रविधिलाई प्रवेश दिएनन् । ब्लाटर भन्थे, ‘म रहुन्जेल फुटबलमा निर्णयका लागि प्रविधिको मदत लिइनेछैन ।’ नभन्दै उनी जति समय फिफामा रहे, फुटबलले प्रविधिको सहयोग लिन चाहेन । अहिले उनी फिफामा छैनन्, नयाँ नेतृत्व जियानी इन्फान्टिनोको हातमा छ । इन्फान्टिनो फिफामा के आए, फुटबलमा प्रविधिले प्रवेश पाइहाल्यो ।
यी नयाँ अध्यक्ष फुटबलमा प्रविधिको प्रयोगमा उदार छन् । प्रत्येक विश्वकपमा केही न केही नयाँ देख्न पाइन्छ । यसकै शृङ्खलाका रूपमा यसपटक विश्वकपमा ‘भार’ ले डेब्यु गर्दैछ, अर्थात भीएआर प्रविधि । यसको प्रयोग सबैभन्दा पहिले कन्फेडेरेसन कपमा भएको थियो । विश्वकपको तयारीका रूपमा हुने कन्फेडेरेसनकप रुसमै सञ्चालन भएको थियो र त्यसक्रममा ‘भार’ पनि प्रयोगमा आयो । त्यति बेला यो प्रविधि विवादबाट मुक्त त रहेन्, तर सबैले यसको आवश्यकता भने महसुस गरे ।
भीएआरको पूरा रूप हो, भिडियो एसिस्टेन्ट रेफ्री । क्रिकेटमा यो प्रविधि थर्ड अम्पायरका नाममा धेरै अघि प्रयोगमा आइसकेको छ, । यसले खेलका क्रममा जटिल निर्णयका लागि रेफ्रीलाई मद्दत गर्नेछ र त्यसका लागि सहायकहरूले यो भिडियाको उपयोग गर्नेछन् । उल्लेखनीय के छ भने ‘भार’ ले आफै निर्णय भने गर्न पाउने छैन । उसको काम मुख्य रेफ्रीलाई सहयोग गर्ने मात्र हो । रेफ्रीले यो प्रविधिको सहयोग लिनुपरे हातले आयाताकार संकेत गर्ने छन् ।