बिहीबार बिहान १०:४५ बजे अकस्मात् मोरङ जिल्ला अदालतमा उपस्थति भए, सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त एसएसपी श्याम खत्री । उनका साथमा थिए उनकी श्रीमती तथा उनका तर्फबाट पैरवी गर्ने कानुन व्यवसायी अधिवक्ता हेमराज पन्त । यो प्रकरणमा अन्य अभियुक्तहरू अदालत परिसरमा उपस्थित हुँदाका दिनको तुलनामा त्यस दिन कम संख्यामा सुरक्षाकर्मी देखिन्थे । खत्रीले अदालत पुगेर आत्मसर्मपण गरेको जानकारी मोरङ प्रहरीले पाएपछि ठूलो संख्यामा सुरक्षाकर्मी अदालत परिसरमा परिचालन गरिएका थिए ।
दिउँसो साढे ११ बजेदेखि बन्द इजालसमा खत्रीको बयान सुरु भएको थियो । लामो समयदेखि फरार खत्रीको बयान बन्द इजालसमा भएको थियो भने थुनछेक बहस खुल्ला रूपमा भएको थियो । खत्रीले अदालतसमक्ष १२ पृष्ठमा लिपिबद्ध बयान दिएका थिए । अभियुक्त खत्रीले बडो चालखीपूर्वक संक्षिप्तमा इन्कारी बयान दिएकाले समयअगावै बयान सकिएपछि अदालतको ६ नम्बर इजलासमा थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसलाई धेरै नलम्ब्याउन न्यायाधीश नारायणप्रसाद शर्माले गरेको आग्रहअनुसार साढे पाँच बजे बहस सकियो । त्यसपछि अदालतले सवा छ बजे आदेश लेखेर खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।
संगठीत अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा खत्रीलाई पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिइएको अदालतका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।
सरकारका तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पूण्यप्रसाद पाठकले तथा खत्रीको पक्षबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए । थुनछेक बहसमा पहिले खत्रीका कानुन व्यवसायीले उनलाई सादा तारेखमा छाड्न आग्रह गरे । बहसकै क्रममा उनले खत्रीले धरौटी राख्न सक्ने अबस्था नभएकाले पुर्पक्षका लागि जेल पठाउनुपर्ने भए गोरेलाई राखिएको मोरङ कारागारमा नभएर झुम्का कारागार पठाउन निवेदन गरेका थिए । न्यायाधीश शर्माले खत्रीलाई पुर्पक्षकालागि मोरङ जिल्ला कारागार पठाउन आदेश गरे । मोरङ कारागारमा ठाउँ अभावले गर्दा खत्रीलाई शुक्रबार झुम्का कारागार पठाइएको मोरङ प्रहरीले जनाएको छ ।
सोही मुद्दाका अर्का अभियुक्त डा. डेबिड भनिने छिरिङ वाङ््देल घले पनि एसएसपी खत्रीकै शैलीमा अदालतमा उपस्थित भए । उनले पनि आफ्ना तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई काठमाडांैबाटै ल्याएका थिए । उनले बिहान १० बजे नै अदालतमा हाजिर भएर बयान दिए ।
छिरिङको बयान सकिएपछि सोही दिन थुनछेक बहस भयो । बहसमा वादीका तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक तथा प्रतिवादी छिरिङका तर्फबाट दुई जना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता विश्वराज भट्टराई एवं अधिवक्ता सरोज अधिकारीले बहस गरेका थिए । बहस सकिएको केही समयपछि नै न्यायाधीश शर्माले छिरिङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए ।
छिरिङलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिइएको हो । ‘छिरिङले आपराधिक संगठनको सदस्य भै अवैध सुनको चोरी निकासी एवं पैठारीमा प्रत्यक्ष रुपमा संलग्न भै कमिसन लिएको देखियो,’ अदालतको आदेशमा भनिएको छ,’ ‘बरामद भएको रजिस्टरबाट प्रतिवादी छिरिङले पटक–पटक आफ्नो नाम छिरिङ डाक्टर तथा डी ड्याङ उल्लेख गरी सुन मगाएको देखिन्छ ।’ छिरिङ यही प्रकरणका अर्का अभियुक्त भुजुङ गुरुङका साला हुन् । अदालतको आदेशपछि छिरिङलाई जिल्ला कारागार मोरङ लगिएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरूको बयान बाझियो
३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्तका रूपमा हेरिएका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री एवं डा. डेबिड भनिने छिरिङ वाङ््देल घलेको बयान आपसमा बाझिएको छ ।
न्यायाधीश नारायण प्रसाद शर्माको बन्द इजालसमा गोरेले सुन तस्करीमा विमानस्थलबाट सुन पास गर्ने ठेकेदार एसएसपी खत्री भएको र नेपालमा सुन तस्करीको सेटिङ छिरिङले मिलाउने कुरा बताएका थिए । छुट्टाछुट्टै मितिमा अदालतमा उपस्थीति भएर दिएको बयानमा मुख्य अभियुक्त भनिएकाहरूको बयान बाझिएको हो । खत्रीले अदालतमा दिएको बयानमा आफूलाई विमानस्थलबाट सुन तस्करी हुने कुनै जानकारी नै नभएको बताएका छन् ।
करिब ५ घण्टा चलेको बयानमा खत्रीले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन् । उनले सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उल्लेख गरेका छन् । खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि रेड कर्नर नोटिस जारी गरेको थियो । पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादूनमा थिए । सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी मोरङ आएको बताइएको छ ।
त्यस्तै अर्का अभियुक्त छिरिङले पनि आफू सुन तस्करीमा संलग्न नभएको दाबी गरे । यसअघि यो प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ ले नेपालमा सुन तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ््देल घले भएको बयान अदालतसमक्ष दिएका थिए । यता अभियुक्त छिरिङले अदालतमा भने इन्कारी बयान दिए । आफ्नो बयानमा छिरिङले आफूमाथि लागेको सबै अभियोग अस्वीकार गरेका छन् । उनले बयानमा भनेका छन्, ‘म काठमाडांैमा पार्टपुर्जाको सानो–तिनो व्यापार गर्ने व्यक्ति हुँ । त्यो पसल पनि बेचेर अहिले हाइड्रोपावर र जग्गा प्लटिनङमा लगानी गर्दै आएको छु ।’
डीआईजीको मान्छे भन्दै
गोरेले धम्क्याउँथे
एसएसपी खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेस गर्दै गोरेले उल्टै आफूलाई फसाएको बताए । मिलेर सुन तस्करी गरौं भन्दै आएका गोरेलाई आफूले हप्काएर पठाएको खत्रीले उल्लेख गरेका छन् । गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको मान्छे भन्दै धम्क्याउने गरेको एसएसपी खत्रीले बयानमा अदालतलाई बताएका छन् ।
गोरेले बयानका क्रममा खत्रीले सुन छुटाएबापत प्रतिकिलो ५० हजार रुपैयाँ कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने कुरा उल्लेख गरेका थिए । गोरेले सुन तस्करीमा गोविन्द निरौलाको संलग्नता नरहेको र खत्री नै मुख्य व्यक्ति भएको बयान दिएका थिए । विमानस्थलमा प्रहरीहरू सीधै खत्रीको कक्षमा सुन बोकेर पुग्ने र उक्त सुन प्रहरीकै गाडीमा राखेर खत्रीको घर पुर्याइने दाबी गोरेले गरेका थिए । गोरेले खत्री आएपछि मात्र विमानस्थलमा सुन तस्करी सहज रुपमा हुन थालेको कुरा समेत बताएका थिए । यद्यपि एसएसपी खत्रीले ती सबै आरोप अस्वीकार गरेका छन् ।
यस्तो छ छिरिङको इन्कारी बयान
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका अभियुक्त छिरिङ वाङ््देल घलेले अदालत समक्ष दिएको बयानमा आफूविरुद्ध लागेका सबै अभियोग अस्वीकार गरेका छन् । हाल थुनामा रहेका भुजुङ गुरुङ नाताले भिनाजु पर्ने भए पनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको छिरिङले बताएका छन् ।
उनले मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेसँग चिनजान नै नभएको दाबी गरे पनि साढे ३३ किलो सुन हराएपछि गोरे र उनका केटाहरूलाई दुई पटक बोलाएर सोधपुछ गरेको भने स्वीकार गरेका छन् । सोधपुछका क्रममा गोरेकै दबाबमा आफूले भुजुङलाई फोन गरेको छिरिङले बताएका छन् । सोही क्रममा गोरेले भिडियो खिचेको र फुटेजमा आफै रहेको उनले दिएको बयानमा उल्लेख छ ।
गोरे समूहका मानिसहरूले भन्ने गरेको डा. डेविड आफू नभएको दाबी गर्दै छिरिङले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान दिनुको कारण आफ्नो समूहका मानिसहरूलाई जोगाई मलाई फसाउनु हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुन सक्छ । म छिरिङ वाङ्देल गुरुङ हुँ सुनको कारोगार नगर्ने हुँदा म निर्दोष छु ।’
३० जना अभियुक्त अझै फरार
सनम शाक्य हत्या प्रकरणमा अझै ३० जना अभियुक्त फरार छन् । यसअघि केही प्रहरी अधिकारीसहित मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेसहित ३१ जना पुर्पक्षका लागि जेल चलान भैसकेका छन् भने १ जना धरौटी तथा १ जना सादा तारिखमा छुटेका छन् । प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो ।