साप्ताहिक संवाददाता
कन्सर्ट सुरु हुुनुअगावै दर्शकको हुल कन्सर्ट हलबाहिर जम्मा भैसकेको थियो । बाहिर गर्मीले हप्पक महसुस हुन्थयो । परदेशी भूमिमा नेपथ्यको कन्सर्ट सुन्न दर्शक यसरी हेलिएर आएका हुन् । टेक्ससको ड्यालस स्थित द बम फ्याक्ट्री हलभित्र भने अत्याधुनिक एसी जडित हलमा भने गर्मि थिएन ।
नेपथ्यको गीत सुन्न आतुर रहेकाहरूलाई प्रतिक्षाको घडी समाप्त गर्दै गुन्जियो हल । सेताम्मे फुलेको लामो कपाल हल्लाउँदै नेपथ्यका गायक अमृत गुरुङले गला खोल्ने बितिक्कै हल एक चोटी उचालियो । बिदाको मौका परेर मम इन्टरटेनमेन्ट, वाइज इन्टरटेनमेन्ट, बीपी इन्टरटेनमेन्ट, निरज पन्त र एभरेस्ट रेस्टुरेन्टको संयुक्त आयोजनामा शनिबार राति भएको कन्सर्टमा दर्शकले सुनेनन् मात्रै ब्यान्ड संगै गाए, नाचे र उफ्रिए पनि । जब गायक अमृतले ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएपछि भने दर्शक काबुमा रहन सकेनन् । यो गीतसँगै कन्सर्टको माहौल रन्कियो । उमेरले बुढ्यौली लागे पनि तन्नेरी जोश निकाल्दै गायक आफु पनि नाच्दै गाउँदै दर्शकलाई ‘ब्याक टु ब्याक’हिट नम्बर सुनाएर एकोहोरो नचाइरहे । गीत गाउँदै उनले युवालाई देशप्रेमको भाव जगाउने भावहरू पनि सुनाए । नेपाली तन नेपाली मन सबैलाई कन्सर्टमा स्वागत छ है भन्दै उक्साए । ‘जोगले हुन्छ भेट’ ‘जोमसोमे बजारैमा,’ ‘चरी मर्यो सिसैको गोली’ जस्ता लोकप्रियता गीत पस्कदै गर्दा कन्सर्ट हलको चिसो माहौल गर्मागर्मि बन्यो । उनले गीतसँगै गाउँबस्ती तथा भीरपाखाको कुरा पनि सुनाउँदै परदेशी मनहरूलाई स्वदेशको याद ताजा बनाए ।
दुई दर्जनभन्दा बढी गीत पस्केका उनले ‘रेसम...’ ‘तालको पानी’ र मै नाचे छमछमी गीतमा दर्शक पानी पानी भए । दर्शकलाई यी गीतले पसिना निकाल्न पर्याप्त बन्यो । दोस्रो विश्वयुद्धताका बम निर्माणका लागी प्रयोग गरिएको कारखाना उनले कन्सर्ट हल अहिले सांगीतिक कन्सर्ट गर्ने हलका रूपमा यहाँ लोकप्रिय छ । सन् १९९३ मा यो कारखानालाई संगीत प्रदर्शन गर्ने थलोका रूपमा विकास गरिएको हो ।
गायक गुरुङले पनि अब यहाँबाट युद्ध हैन संगीतबाट विश्व शान्तिको सन्देश छर्न पाएकोमा गर्व लागेको बताए उनले रातो र चन्द्र सुर्य तथा गाउँ–गाउँबाट उठ बोलको राष्ट्रभक्ति गीतबाट कन्सर्टको बिट मारे ।
खचाखच दर्शकमाझ भएको कन्सर्टमा हरेक गीतमा दर्शकको ‘वान्स मोर’ पाएको थियो । कार्यक्रममा तन्नेरीदेखि पाका दर्शक नेपथ्यको कन्सर्ट सुन्न सशुल्क कन्सर्ट हलमा ओइरिएका थिए । यति बृहत् र राम्रो व्यवस्थापन भएको कन्सर्ट अमेरिकामा पहिलो पटक सहभागी हुन पाइयो’ कन्सर्टमा भेटिएका पर्वत कार्कीनेटाका नेत्र पौडेलले सुनाए । दुई घण्टा लगातार गीत सुनाएका अमृत पनि असिनपसिन भएका थिए । ड्यालसपछि नेपथ्यले असार १० गते अर्को सहर बोष्टनको रोया हलमा आफनो प्रस्तुति दिनेछ ।
नेपथ्यले यसअघि पहिलो पटक अमेरिकाको दुई सहर एरिजोनाको फिनिक्स तथा राजधानी वासिङ्टन डिसीमा कन्सर्ट गरेको थियो । त्यसपछि लगातार ती पटक अमेरिकाका महत्वपूर्ण सहरमा कन्सर्ट गरिसकेको छ ।