अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ वर्षअघि स्थापित म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेकनोलोजी (एमआईटि) विश्वविद्यालयले नेपाली मूलकी छोरीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ । एमआईटी विश्वविद्यालयले उक्त नक्षत्रलाई १८ वर्षीया देविना थापाको नाम दिनुले निकै अर्थ राख्छ । एमआईटीले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा देवीना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नयाँ ग्रहको नामाकरण ‘देविना थापा’ गरेको हो ।
म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी (एमआईटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभाग का प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोस्रो इन्टेल अन्तराष्ट्रिय विज्ञान तथा इन्जिनियर्स मेलामा दोश्रो स्थान हासिल गरेकोमा उनको सम्मान गर्दै सूक्ष्म ग्रहको नाम उनकै नाममा राखेको बताएका छन् ।
उक्त विश्वविद्यालय भौतिक विज्ञान तथा अभियन्त्रणा (इन्जिनिरिङ) को शिक्षा तथा अनुसन्धान गर्ने बिषयमा चर्चित प्रसिद्ध भए पनि जीव–विज्ञान, अर्थशास्त्र, बहुभाषा अध्ययन तथा व्यवस्थापनसम्बन्धी अनुसन्धानसमेत गर्छ । निजी अनुसन्धानमा ख्यातिप्राप्त उक्त विश्वविद्यालय म्यासाचुसेट्सको क्याम्ब्रिज सहरमा छ ।
भर्जिनियाको स्टर्लिङ सहरमा बसोबास गर्ने १८ वर्षीया देविना समाजसेवामा उत्तिकै क्रियाशील छिन् । गर्मीको बिदामा छुट्टी मनाउन नेपाल जान रुचाउने थापा गत वर्षको गर्मीमा नेपाल पुगी माइती नेपालमा दुई हप्ता स्वयम्सेवकका रूपमा सक्रिय थिइन् ।
अमेरिकाको प्रतिष्ठित लाउडन एकेडेमी अफ साइन्समा प्रवेश पाउने एक मात्र छात्रा देविनाको अनुसन्धान एन्टीबायोटिक अफ अल्टरनेट ‘अर्थात् प्रतिजैविकको विकल्प पत्ता लगाउने विषयमा केन्द्रित छ ।