व्यापारिक घरानाकी दीपिका श्रेष्ठ मोडलिङमा आकाश छुन चाहन्थिन्, त्यो पनि चानेचुने ढंगले होइन, सहरका आफ्ना धेरै साथीहरूसँग प्रतिस्पर्धा गरेर । पैसाको कमी थिएन, उस्तै थियो जोस, जाँगर पनि । रूपरंगले साथ दिएकै हो, तर उनका सामु अनेकौं तगारा थिए ।
नेपालगन्ज सुन्दरी हुने लक्ष्यसँगै पहिलो पटक चालेका पाइला आइलाग्ने तमाम बारबन्धन छिचोल्दै थिए । उनले गत असार ३ गते १८ प्रतिस्पर्धीमध्ये फाइनलमा पुगेका १० जनालाई उछिन्दै नेपालगन्ज सुन्दरीको उपाधि जितेकी थिइन् । त्यतिबेला उनीमाथि उपाधिका लागि पैसा ख्वाएको आरोप लाग्यो ।
खुट्टा तान्दै गर भन्दै गएँ, अघि बढ्दै गएँ, सुन्दरी प्रतियोगिताबाट मोडलिङमा छलाङ मार्न खोजेकी नेपालगन्ज, न्युरोडकी दीपिका भन्छिन्– एयरहोस्टेस हुने चाहना पनि छँदैछ ।
ज्यान एक, चाहना अनेक । उमेरले उरालेको चञ्चल र अस्थिर मन । कता जाने ? कता लाग्ने ? दोधारे मनस्थिति । सुन्दरी प्रतियोगिताका आयोजकले एयरहोस्टेस बनाउने आश्वासन नदिएका पनि होइनन् । काठमाडौंमा ५ महिना तालिम पनि लिइन् । अन्तर्राष्ट्रिय हवाई उडान भर्दै आएका एयर अरेबिया र कतार एयरलाइन्समा मेलमार्फत आवेदन दिइन् । सफलता हात लागेन । आकाश छुने एउटा चाहनाको त्यहीँ अन्त्य भयो ।
मिस नेपाल हुने अर्को सपना । त्यो पनि अधूरै भयो । उमेरले साथ दिएन— दीपिका भन्छिन् । सानो सहरबाट ठूलो रहरका साथ उठेकी दीपिका अन्तत: गृहनगर नै फर्किएकी छिन् । अहिलेसम्म कुनै लक्ष्य पूरा भएन । अब व्यापार गर्छु, दीपिकाले भनिन्– मेरा सबै साथी अध्ययनतर्फ लागे । आफ्नो त लाइन नै टुट्यो । किन परिवर्तन हुन्छन् किशोरावस्थाका सपना ? उनीहरूसँग प्रश्नको चित्तबुझ्दो जवाफ छैन । ग्ल्यामरस लाइफप्रति आकर्षित भएर दुईतिर खुट्टा राख्दा धेरैका सपना साकार हुन सकेका छैनन् ।
दीपिका सपना साकार नहुने एक्ली सुन्दरी होइनन् । मिस नेपालगन्जकै फस्ट रनर्सअप समीक्षा बोहोरा तथा सेकेन्ड रनर्सअप सिर्जना थपलियाले पनि बाटो परिवर्तन गरेका छन् । लक्ष्य त मोडल हुने हो समीक्षाको, तर आवश्यकताले अर्कै बाटो डोर्यायो । अन्तत: सेवा क्षेत्रमा लाग्ने निधोका साथ नर्सिङ अध्ययन सकेर अहिले पनि जागिरको पर्खाइमा छिन् उनी । पहिले आर्थिक रूपमा आफ्नै खुट्टामा उभिन चाहन्छु, समीक्षा भन्छिन्– निड एन्ड एममध्ये कुनलाई प्राथमिकता दिने दोधारमा छु । मोडल हुने चाहना र करियर दुई फरक बाटो देखिए पनि लगावचाहिँ मोडलिङतिरै छ, समीक्षाले प्रस्ट्याइन्– किनभने थोरै भए पनि नाम कमाएकी छु । आर्थिक रूपले सबल र स्वतन्त्र भएपछि पाइला फेरि मोडलिङतिरै बढाउने पक्षमा छु । समीक्षाले आफ्नो चाहना खुलस्त पारिन् ।
समीक्षालाई पारिवारिक सपोर्ट पनि थिएन । निकटस्थ साथीहरूले साथ र दबाब दुवै दिए । अन्तत: परिवारले समेत स्वीकृति र साथ दियो । दीपिकाको तुलनामा समीक्षा सामु आर्थिक चुनौती धेरै छन्, तर उनी आफू उठेको सहर नेपालगन्जको फोहोर सफा गर्ने पक्षमा छिन् । समीक्षा भन्छिन्– नर्सिङ सेवामा लागे पनि नेपालगन्जलाई सुन्दर बनाउने काममा लाग्नेछु ।
समीक्षाकी साथी सिर्जना पनि लक्ष्य परिवर्तन गरी अध्ययनलाई निरन्तरता दिन काठमाडौंतर्फ लागेकी छिन् । साथीहरूले प्रेरित गर्दा मोडलिङमा हाम फाल्नेहरू धेरै देखिन्छन् । यद्यपि धेरैजसो अनेकन् कारणले आफ्नो चाहना परिवर्तन गर्न बाध्य हुनुपरेको बताउँछन् ।
नेपालगन्जमा केही वर्षयता हुँदै आएका सुन्दरी प्रतियोगितामा किशोरीहरूको आकर्षण बढ्दो छ । तराइको समाजिक तथा पारिवारिक सोच त्यस्ता किशोरीको चाहना, रुचि र आकर्षणमा बाधक बन्ने गरेका छन् । यद्यपि विभिन्न बाधा–अड्चन हुँदाहँुदै पनि नेपालगन्जमा मोडलिङमा प्रवेश गर्न चाहनेहरूको कमी देखिदैन, तर मोडल बन्ने महत्वाकांक्षा र सपना सँगालेका सुन्दरी प्रतियोगिताका दर्जनौं सहभागी राष्ट्रिय स्तरसम्म पुग्न नसक्दा खुम्चिएरै बस्न बाध्य छन् । कारण के हो ? भेरी सुन्दरी प्रतियोगिताकी सहभागी ममता थापा भन्छिन्– धेरैजसो आयोजकले प्रतियोगिता हुँदा आकाशका तारा टिपेर ल्याइदिने झूटो आश्वासन बाँड्छन् । कसैलाई एयरहोस्टज बनाइदिने त कसैलाई के बनाइदिने सपना देखाउँछन् । यस्ता प्रतियोगितामा एक खालको भावनात्मक शोषण नै हुन्छ । यस्ता आयोजकको विश्वासमा पर्दा धेरैले धोका पाउँदै आएका छन् । अर्कातिर परिवार र समाजको पनि समर्थन हुँदैन ।
नेपालगन्जको परिवेश अझै मोडलिङका लागि अनकूल छैन । छोटो कपडा लगाएर क्याटवाक गर्दैमा मोडल भइन्छ भन्ने गलत धारणा छ ।