साप्ताहिक संवाददाता
प्रेमकथानक फिल्म ड्रिम गर्लमा समाबेश तिम्रो मायामा हराउन बोलको गीत सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको उक्त गीतलाई प्रेसमिटको अवसर पारेर सार्वजनिक गरिएको हो ।
आगामी असोज १९ गतेदेखि प्रदर्शनमा आउने ड्रिम गर्लको उक्त गीत अन्जु पन्त र सुरेश लामाले गाएका हुन् । अम्बिका शर्माको लेखन रहेको यो गीतमा अर्जुन पोखरेलले संगीत भरेका थिए । चलचित्रमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
रारा ताल र थाइल्याण्डका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतमा प्रेमीप्रेमीकालाई प्रेमभावमा प्रस्तुत गरिएको निर्देशक आचार्यले बताए ।
यो चलचित्रमा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।