साप्ताहिक संवाददाता
भोलि बिहिबार रसियामा विश्वकप फुटबल २०१८ को उद्घाटन भैरहँदा दरबारमार्गस्थित किंग्स लाउञ्जले राष्ट्रियस्तरका नेपाली खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
फुटबलको कुम्भ मेला विश्वकप–२०१८ रंगशालामा प्रत्यक्ष हेरे जस्तै अनुभव दिँदै लाउञ्जले विभिन्न विधाका राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गर्ने भएको हो ।
लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार जेठ ३१ गते विश्वकपको औपचारिक कार्यक्रम प्रारम्भ हुँदै गर्दा राष्ट्रिय फुटबल टीमका साथै क्रिकेट, तेक्वान्दो लगायत विभिन्न विधाका खेलाडीहरुलाई एकै पटक सम्मान गरिनेछ ।
लाउञ्जमा फुटबल हेर्ने दर्शक मध्येका एक जनालाई राष्ट्रिय फुटबल टीमका कप्तानबाट उपहार सहित सम्मान गर्ने कार्यक्रम रहेको लाउञ्जका सञ्चालक संगम राईले बताए ।
विश्वकपको उद्घाटन खेल सञ्चालन भैरहँदा लाउञ्जमा गायक एड्रिन प्रधानले विशेष सांगीतिक प्रस्तुती दिनेछन् । लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिनमा विश्वकप फुटबलका खेलहरु प्रदर्शन गर्नेछ ।
लाउञ्जमा विश्वकप अवधिभर खेलाडी, कलाकार, आम दर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले जानकारी दिए ।