पुरुष लिंगको सुपारी आकारको टुप्पो छालाले छोपिएको हुन्छ, जसलाई अग्रचर्म भनिन्छ । पुरुष लिंगमाथिको छाला तल माथि गर्न, लिंगको टुप्पालाई ओसिलो राख्न तथा यौनसम्पर्क सहज बनाउन अग्रचर्ममुनि स–साना आकारका असंख्य ग्रन्थि हुन्छन् । यही ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भै सेतो देखिन्छ । यो स्वभाविक प्रक्रिया हो । अग्रचर्म नकाटिएका व्यक्तिको अग्रचर्ममुनि सेतो पदार्थ जम्ने प्रक्रिया अलि छिटो सम्पन्न हुन्छ ।
व्यक्तिपिच्छे निश्चित खालको शारीरिक गन्ध कसैलाई मनपर्ने त कसैलाई नपर्ने हुन्छ । निरन्तरको सामीप्यतापछि आफ्नो यौनसाथीको शारीरिक गन्धमा मिठास महसुस भै यसैलाई यौन आकर्षण मानिन थाल्छ । दुई व्यक्तिबीचको प्रणय सम्बन्ध प्रगाढ हुने कार्यमा शारीरिक गन्धले विशेष प्रभाव पार्छ । यस्तो प्रकारको गन्धलाई प्राकृतिक मान्नुपर्छ । यौनांग वरिपरि पसिना आउने र पिसाबको थोपा पर्ने कारणले यस्तो गन्ध बढी आउँछ । कुनै यौनसाथीलाई उक्त गन्ध नमीठो लागे गन्धनाशक डिओडरेन्ट प्रयोग गर्न सकिन्छ ।
आफ्नो शारीरिक गन्धप्रति कसैले नकारात्मक टिप्पणी गरेको खण्डमा सरसफाइमा ध्यान पुर्याउनु आवश्यक छ । नमीठो शारीरिक गन्धले यौनांग स्पर्श तथा लिंग मुखमैथुनका पारखीलाई नकारात्मक असर पुग्न सक्छ । यसका लागि नियमित सरसफाई गर्ने तथा भित्री लुगा नियमित फेर्ने बानी बसाल्नुपर्छ । पुरुष लिंगमा साबुन, पाउडर वा डियोडेरेन्ट प्रयोग गर्दा एलर्जी हुनसक्ने सम्भावनाप्रति सजग रहनुपर्छ । जीवाणु तथा ढुसीको संक्रमणको शंका लागे सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ ।
कतिपय अध्ययन अनुसार अग्रचर्म काटिएका व्यक्तिमा एचआईभीलगायत यौनांगको संक्रमण एवं क्यान्सर हुने सम्भावना तुलनात्मक रूपमा कम पाइएको छ, तर यसो भन्दैमा सबैले अग्रचर्म काट्नैपर्छ भन्ने होइन । सामान्य भन्दा बढी एवं संक्रमण हुन थालेको खण्डमा प्रभावित भाग चिलाउने, रातो हुने, सुन्निने, दुख्ने आदि हुनसक्छ ।
कहिलेकाहीँ पुरुष लिंग माथिको छाला साँगुरिएर वा लिंगमा टाँसिएर अग्रचर्म फेदतिर फर्काउन मिल्दैन, अर्थात् टुप्पाको अग्रचर्म साँगुरिएका व्यक्तिको लिंगको छालामुनि सेतो पदार्थ जम्मा हुने सम्भावना हुन्छ । अधिकांश नवजात शिशुमा अग्रचर्म टाँसिएको भए पनि समयक्रमसँगै छुट्टिँदै जान्छ । करिब १० प्रतिशतमा भने यो समस्या यथावत रहन्छ । जसको उपचारका क्रममा अग्रचर्म काट्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त लिंगको सुजन, यौनांगको छालाको सुजन तथा लिंगमा पंmगल संक्रमणले पुरुष लिंगलाई रातो बनाउन सक्छ । यस्तै सोरियासिसको समस्यामा बाक्लो अलग्गै रातो दाग बस्ने तथा हर्पिसको संक्रमणमा दुख्ने खालका राता स–साना बिमिरा तथा पानीको फोका उठ्ने हुन्छ । विभिन्न उद्देश्यका लागि पुरुष लिंगमा प्रयोग गरिएको कृत्रिम जेल वा झोलका कारण एलर्जी उत्पन्न भएर रातोपन देखापर्न सक्छ ।