चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको लोगो त्यति आकर्षक थिएन । यसै कारण लोगोका लागि यसपटक रूसले प्रशस्तै मेहनत गरेको छ । जति बेला विश्वकपको लोगो सार्वजनिक गरियो, सबैले माने, यो विशेष छ । यसका डिजाइन पोर्चुगलको लिस्बनस्थित संस्था ब्रान्डिया सेन्ट्रलले गरेको हो ।
कलाका पारखीमध्ये जसले यसलाई पहिलो पटक हेर्छन्, प्राय:ले भन्ने गरेका छन्, यसमा जादु छ । खासमा यसले रूसी कला र इतिहासको प्रतिनिधित्व गर्छ । लोगो फेरि एकपटक ट्रफी स्वरूपमै छ । यसमा पनि सेतो र नीलो रंग नै प्रयोग गरिएको छ । यसले पनि रूसी झण्डाकै प्रतिनिधित्व गरिरहेको छ ।
लोगोको सबैभन्दा माथि बल छ र यसले स्पुटनिकको प्रतिनिधित्व गरिरहेको छ । स्पुटनिक पहिलो आर्टिफिसियल–स्याटलाइट हो । यसमा रहेका ताराले अन्तरिक्षलाई संकेत गर्छ । यसको अर्थ रूसलाई आफ्नो पुरानो र लामो अन्तरिक्ष कार्यक्रममा गर्व छ, यसले बाँकी विश्वलाई फेरि एकपटक ती दिन सम्झना दिलाउन चाहन्छ ।
यसको तलतिर मानव शरीरको पनि प्रतिनिधित्व छ र यो फुटबलका पारखीहरूप्रति समर्पित छ । यो स्वरूपले खुसीयाली मनाइरहेको छ । आयोजकहरूको विश्वास छ— यसपटकको विश्वकपले पूरा विश्वलाई फुटबलको माध्यमबाट खुसी दिनेछ । समग्रमा यसपटकको लोगो निकै आकर्षक छ र पूरा प्रतियोगिताका क्रममा यो जताततै छाउनेछ ।