साप्ताहिक संवाददाता
प्रशंसाले पुलकित
मेरो जन्म खोटाङमा भए पनि मेरो बाल्यकाल काठमाडौंमै बित्यो । मलाई सानैदेखि नृत्य मनपथ्र्याे । त्यसैले म ६–७ वर्षको उमेरदेखि नै स्टेज कार्यक्रमहरूमा नृत्य गर्थेँ । विभिन्न संघ–संस्थाहरूका लागि सहयोग जुटाउन नाच्थेँ । अर्को कुरा म स्कुलमा हुने हरेक नृत्य प्रतिस्पर्धामा प्रथम हुन्थेँ । मेरो नृत्यलाई सबैले मन पराउनुहुन्थ्यो र प्रशंसा समेत गर्नु हुन्थ्यो । त्यही प्रशंसाले मलाई पुलकित बनाएर नृत्यलाई नै करिअरका रूपमा अघि बढाउन प्रेरित गर्यो ।
लघुचलचित्रले देखाएको सम्भावना
म हरेक ठाउँमा नृत्य गर्थे । यही क्रममा मैले करिब ४ वर्ष अघि नितिन चन्दको एउटा म्युजिक भिडियोमा अभिनय गरेँ । उक्त भिडियो खासै चर्चामा आएन । त्यसका साथ–साथै म नितिनकै कम्पनीको डेट इन यूएन पार्क शीर्षकको लघुचलचित्रमा अभिनय गर्न थालेँ । उक्त लघुचलचित्र सबैले मन पराएपछि युट्युबको ट्रेन्डिङमा पर्न थाल्यो र म त्यहीँबाट चर्चामा आएँ । चर्चामा आएपछि मलाई थुप्रै म्युजिक भिडियोबाट प्रस्ताव आउन थाल्यो ।
लुट–२ टर्निङ प्वाइन्ट
म लघुचलचित्र तथा म्युजिक भिडियोहरूमा अभिनय गरिरहेकी थिएँ । यसै क्रममा चलचित्र लुट–२ को अडिसनका लागि अनिल खड्काले बोलाउनुभयो । अडिसनबाट म लुट–२ को अभिनेत्रीमा छानिएँ । लुट–२ को ठमेल बजार गीतमा मैले गरेको नृत्य तथा चलचित्रको अभिनय नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।