औसत ३० डिग्री सेन्टिग्रेड तापक्रम रहने हेटौंडाको तापक्रम रसियामा हुने विश्वकप फुटबलका कारण अझ चर्किएको छ । समर्थकहरू आफूले समर्थन गरेको देशको जर्सीमा रगिंएका मात्र छैनन्, सामाजिक सञ्जालका भित्ता पनि पक्ष वा विपक्षमा रंग्याएका छन् ।
बालकदेखि वृद्ध सबैलाई फुटबलको ‘ज्वरो’ले छोएको छ । ३ वर्षका छोरा आरुल गौतमले ब्राजिलको जर्सी चाहियो भनेर जिद्दी गरेपछि ब्राजिलको जर्सी किन्न पुगेको आमा सुजिताले बताइन् । ठूला दाइ– दिदीले लगाएको देखेर छोराले जिद्दी गरेपछि किन्न आएकी हुँ, सुजिताले भनिन्– साइजको पाउन पनि मुस्किल नै रहेछ । हटियाका सुमन श्रेष्ठले १० वर्षीय भतिज समृद्ध श्रेष्ठले ‘मेसी’ कै नामको जर्सी चाहियो भनेकाले खोज्दै आएको बताए ।
जर्सीको त अभावै देखिएको छ, हेटौंडा स्पोट्र्स मुण्डियालका सञ्चालक सुविन घिमिरेले बताए । जर्सी नै पाइँदैन, होलसेलले नै पठाउन सकिरहेको छैन, घिमिरेले भने– करिब ५ सय जर्सी बेचिसकेको छु, मागअनुसार, अझै दिन सकिरहेको छैन । घिमिरेका अनुसार, हेटौंडामा क्रमश: ब्राजिल, अर्जेटिना, जर्मनी तथा पोर्चुगलको जर्सीको बिक्री बढी छ ।
फ्यान क्लबबीच प्रतिस्पर्धा
हेटौंडामा विभिन्न मुलुकका समर्थकहरूले फ्यान क्लब नै बनाएका छन् । हेटौंडा फुटसलले ती क्लबहरूबीच प्रतियोगिता समेत गराउने तयारी गरेको निरजसिंह ठकुरीले बताए । ठकुरीका अनुसार, ब्राजिल, अर्जेन्टिना, फ्रान्स तथा बेल्जियमका समर्थकहरूको टिम तयार भएका छन् । एसियाली देश जापान र साउदी अरेबियाको पनि फ्यान क्लब तयार गरी ती टिमबीच प्रतियोगिता गराउने तयारी भैरहेको जानकारी ठकुरीले दिए ।
चोक–चोकमा तयारी
विश्वकप फुटबल सुरु भएसँगै चोकचोकमा प्रोजेक्टरमार्फत विश्वकप हेर्ने तयारीसमेत भैसकेको छ । हेटौंडा–१६, हटियाका सुजन पाण्डेले चोकमा प्रोजेक्टर मार्फत प्रत्यक्ष प्रसारण हेर्ने तयारी भैरहेको बताए । उद्घाटनसहित मुख्य–मुख्य खेल चोकमा प्रोजेक्टर राखेर हेर्ने योजना छ, –पाण्डेले भने । विभिन्न क्याफे तथा रेस्टुराँले पनि आफ्ना ग्राहकहरूलाई प्रोजेक्टर र ठूलो स्क्रिन भएका टेलिभिजन सेटमार्फत खेल देखाउने तयारी गरेका छन् । हेटांैडामा रहेका दुई चलचित्र हल एनएस र ओम्याक्सले पनि उद्घाटन आदि सबै महत्वपूर्ण खेल देखाउने तयारी गरिरहेका छन् ।
सन् २०१४ मा समेत विश्वकपका खेल प्रदर्शन गरेका हलले यसपटक पनि विश्वकप देखाउने तयारी गरिरहेको ओम्याक्स हलका सञ्चालक नरेन्द्र महर्जनले बताए । हेटौंडा फुटबलप्रति क्रेजी सहर हो । मकवानपुर फुटबलका लागि उर्वर भूमि हो । यहाँ प्रशिक्षण लिएका खेलाडीहरू राष्ट्रिय टिम तथा नेपाली ए डिभिजन क्लबमा छन् । मकवानपुरका अञ्जन विष्ट मनाङ मस्र्याङ्दी, रञ्जन बिष्ट एफिएफ क्लव, सुनिल वल र एलन न्यौपाने थ्रिस्टार क्लबबाट खेल्दै आएका छन् । प्रत्येक जुनियर फुटबल राष्ट्रिय टिममा हेटौंडाका खेलाडी अनिवार्य हुने गरेका छन् ।