साप्ताहिक संवाददाता
यसपटकको विश्वकपमा डेब्यु गर्दैछ पानामाले । पानामा यसपटकको विश्वकपमा तल्लो वरियतामा रहेको टिम हो । यस्तोमा यो टिमबाट धेरै अपेक्षा गर्न सकिँदैन । पानामाका खेलाडी यो विश्वकपको सकेसम्म मज्जा लिन चाहन्छन् । रूस जाने क्रममा पानामाका खेलाडीहरूको आधिकारिक पहिरनमा ‘पानामा ह्याट्स’ पनि रह्यो । अहिले यो पानामा भित्र मात्र होइन, टिम जहाँ–जहाँ जान्छ्, त्यहाँ–त्यहाँ निकै आकर्षक सावित हुँदै गएको छ । पानामा ह्याट्सलाई पानामाको विशेष पहिरन मानिन्छ । खेलाडीहरू यही ह्याट्स लगाएर रुस पुगेका छन् । तय छ, विश्वकपका क्रममा पानामा ह्याट्स खुबै देखिनेछ ।
इंग्ल्यान्डको फरक बिदाइ
इंग्लिस फुटबल समर्थकका लागि प्रश्न, यसपटकको विश्वकपमा टिमको प्रदर्शन कस्तो हुनेछ ? समर्थकहरू चाहन्छन्– कम्तीमा चार वर्ष अघिको जस्तो प्रदर्शन फेरि देख्न नपाइयोस् । ब्राजिलमा सम्पन्न विश्वकपमा इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । यसपल्ट भने टिमको उत्साह राम्रो छ । यिनै इंग्लिस खेलाडीको आत्मविश्वास बढोस् भनेर रूस जाने क्रममा उनीहरूलाई फरक किसिमले बिदाइ गरियो । त्यसक्रममा त्यहाँको शाही वायु सेनाले विमानको मदतबाट आकासमा विशेष खाले धूवाँ छाडेर सलामी दिएको थियो । सेनाबाट प्राप्त यस्तो सम्मानप्रति बेलायती खेलाडीहरूले कृतज्ञता समेत व्यक्त गरेका छन् ।
एमबापेले भेटे टाइसन
फ्रान्सेली फुटबलका नयाँ स्टार हुन्— केलियन एमबापे । आउने केही वर्षमा उनले नै फ्रान्सेली टिम सम्हाल्ने विश्वास गरिन्छ । केलियनले फ्रान्सेली टिमका लागि विश्वकप–२०१८ मा गतिलो योगदान दिने विश्वास गरिएको छ । रूस जानुअघि एमबापेले आफूलाई मन पर्ने पूर्वखेलाडी माइक टाइसनसँग भेट गरेका छन् । पेरिसमा चलिरहेको फ्रेन्च ओपनका क्रममा उनीहरूबीच भेट भएको हो । व्यस्त कार्यक्रमबीच पनि एमाबापेले टाइसनसँग भेटघाट गरे, किनभने टाइसन उनलाई मन पर्ने खेलाडी हुन् । टाइसनसँगको भेटपछि एमबापेको विश्वास छ– अब उनको प्रदर्शन विपक्षी टिमलाई ‘नकआउट’ गर्ने खालको हुनेछ ।