साप्ताहिक संवाददाता
अभिनेता राजेश हमालले आफ्नो ५४ औं जन्मदिनको केक काट्ने समारोहमा सोच्दै नसोचेको उपहार प्राप्त गरेका छन् । ५४ पुगेर ५५ वर्षमा प्रवेश गर्ने क्रममा उनले एउटा नयाँ नेपाली चलचित्रबाट प्रस्ताव पाएका छन् ।
पछिल्लो पटक उनलाई पर्दामा उतार्ने निर्देशक दिनेश श्रेष्ठले नै हमाललाई यो खुसी दिएका हुन् । श्रेष्ठले निर्देशन गर्ने शीर्षक राख्न बाँकी रहेको उक्त चलचित्रका लागि हमाललाई अनुबन्ध गरिसकिएको बताइन्छ । गत शनिबार हमाल निवासमै पुगेर निर्देशक श्रेष्ठले हमाललाई चलचित्रमा अनुबन्ध गराएका हुन् ।
त्यस क्रममा चलचित्रका निर्माता शिवराज कार्कीले हमाललाई उपहार स्वरुप केक प्रदान गरेका थिए, जुन त्यही भेटका क्रममा काटिएको थियो । भनिन्छ, उक्त चलचित्रको स्क्रिप्टमा हमाल सात महिना जति घोत्लिए ।
जन्मदिनको अवसर पारेर उहाँले चलचित्र साइन गर्नु भएको हो, निर्देशक श्रेष्ठ भन्छन्— चलचित्रमा हमालको भूमिका पृथक् छ । उक्त चलचित्रमा हमालसहित चार जना अभिनेत्री मुख्य भूमिकामा रहने बताइएको छ ।