साप्ताहिक संवाददाता
निर्देशक : विकास बस्याल/ कलाकार : मलिना जोशी, मनिष सुन्दर, तमन्ना केसी आदि संगीत : अर्जुन पोखरेल
आज शुक्रबार चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रको निर्माण टिम प्रदर्शनको अघिल्लो साता मात्र नेपालका विभिन्न सहरको प्रमोसन गरेर काठमाडौं फर्किएको हो । आधा दर्जन सहरको भ्रमणपछि दर्शकहरू यो चलचित्र हेर्न आतुर रहेको चलचित्र युनिटले बताएको छ ।
डालचन्द्र दवाडीको लगानीमा निर्मित चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’ पूर्ण प्रेमकथामा आधारित छ, जसको द्वन्द्व निर्देशनको जिम्मेवारी रोशन श्रेष्ठले सम्हालेका छन् । कविराज गहतराजको कोरियोग्राफीको यो चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारी तथा सालिक दुलालको सम्पादन एवं डेभिल भण्डारीको गीत रचना छ । यो चलचित्रमा एउटा मात्र गीत छ ।
मुस्ताङ, सिन्धुली तथा काठमाडौंमा खिचिएको चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’ १ घण्टा ५७ मिनेट लामो छ । वर्षा शिवाकोटी यो चलचित्रमा अतिथि भूमिकामा देखा पर्छिन् । अहिलेसम्म ८० वटा स्क्रिन पाएको यो चलचित्रले अरू हल पाउने सम्भावनासमेत रहेको निर्देशक बस्यालले बताए ।