नेपाली चलचित्रमा ह्यान्डसम भिलेनका रूपमा चिनिएका छन्— अभिनेता अनुपविक्रम शाही । उनको चर्चा दिन–प्रतिदिन बढिरहेको छ । कारण हो, उनी ह्यान्डसम हुनुका साथै दमदार अभिनय गर्छन । नेपाली अभिनेताहरूमा उनको शरीरलाई सबैभन्दा आकर्षक र लोभलाग्दो शरीरमा लिइन्छ । साप्ताहिककर्मी रामजी ज्ञवालीसँग अनुपविक्रमले आफ्नो लोभलाग्दो ज्यानको रहस्य यसरी खोले ।
बिहान उठ्ने र साँझ सुत्ने मेरो सेडुअल लगभग एउटै हुन्छ । यद्यपि चलचित्रको छायांकनका बेला भने यो कुरा लागू हुँदैन । हाम्रो शरीरलाई आराम पनि चाहिन्छ । आराम पुगेन भने स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्छन् ।
सकेसम्म घरको खाना खान्छु । कहिलेकाहीं बाध्यता भएको खण्डमा मात्र बाहिरको खानाबाट चित्त बुझाउँछु । बाहिरको खानाले शरीर लाग्दैन । बाहिरको खाना अस्वस्थकर हुन सक्छ । सकेसम्म घरमै बनाइएको ताजा र स्वस्थ खाना खाए हाम्रो शरीर आफैं राम्रो हुँदै जान्छ ।
नियमित जिम जानु शरीर बनाउने अर्को उपाय हो । हरेक दिन कम्तीमा २ घण्टा जिम गर्न कहिल्यै छोड्दिनँ । हरेक व्यक्तिले आकर्षक शरीरका लागि हप्तामा ३ देखी ४ दिन जिम गर्नु जरुरी छ ।
सफा माछामासुको सेवनमा ध्यान पुर्याउनुपर्छ । आफ्नो शरीरलाई कस्तो खालको मासु उपयुक्त हुन्छ भन्ने कुरा ख्याल गरेर यसको उपयोग गर्नुपर्छ । हरेक दिन बिहान, दिउँसो र साँझ अण्डा छुट्दैन । खानामा सकेसम्म २ पिस मासु खान्छु । एकपटकमा २ देखि ३ वटासम्म अण्डा खानेगरेको छु ।
खानेकुरा खाँदा एकैपटक धेरै खाएर घण्टौं नखाने आमनेपालीको बानी छ, म त्यसो गर्दिनँ । सकेसम्म २–२ घण्टामा केही न केही खाइरहने हो भने ज्यान लाग्नुका साथै स्वस्थ रहन सकिन्छ ।
मानसिक रूपमा स्वस्थ रहनुपर्छ, यसका लागि योग, जकिङ आदि गर्नुपर्छ । चिन्ता लिइरहने मानिसको ज्यान नबन्ने मात्र होइन, उनीहरू अस्वस्थसमेत हुन्छन् ।
सकेसम्म सफा पानी पिउँछु । तिर्खा लाग्यो भन्दैमा जहाँ पायो त्यहाँको पानी पिउने बानी छैन । पानीसम्बन्धी हेलचेक्र्याइँका कारण हाम्रो शरीरमा धेरै रोग लाग्ने भएकाले यो कुरामा एकदमै सचेत हुनु जरुरी छ ।
हरिया सागसब्जीलाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ । यति मात्र होइन, समय–समयमा ताजा फलफूल पनि खान्छु । खासगरी मौसमअनुसारका फलफूलमा जोड दिनु जरुरी छ । दिउँसो खाजा खाने समयमा सकेसम्म फलफूल खान्छु । म:म, चाउमिनजस्ता खानेकुरा भरिसक्य खानु हुँदैन ।