हामी सपनालाई चरा मान्छौँ तर त्यसलाई निस्फिक्री आकाशमा उड्न नदिएर पिँजडामा कैद गर्छौं । हामी सपनालाई धरती मान्छौँ तर तिनमा हरिया वृक्षहरूलाई रोप्न, हुर्काउन, बढाउन, स्याहार्न अल्छी मान्छौँ ।
हामी सपनाहरू जन्माउँछौँ तर जन्मिएका ती सपनालाई उचित पोषण दिँदैनौ । कलिला ती सपनालाई सुम्सुम्याउन खोज्दैनौँ । सपनाको कलिलो हात समातेर डोर्याउँदै कहीँ लान हिच्किचाउँछौँ । धैर्यपूर्वक तिनलाई पिठ्यूँमा बोकेर आफैँसँग लान धकाउँछौँ ।
यहाँ धेरै सपनाहरू त लाज, संकोच र आफैँप्रतिको अविश्वासको धारमा परेर दिनहुँ रेटिइरहेछन् । यहाँ धेरै सपनाहरू पानीको फोकाझैँ आकारमा आउँछन् र क्षणभरमै फुटेर सिद्धिन्छन् । यहाँ कति सपनाहरू आफ्नै विवशतामा घुन पिसिए झैँ पिसिन्छन् । कैयौँ सपनाहरू अरुका खातिर बिर्सिइन्छन् ।
कैयौँ आँखाहरू छन् जो सपना देख्नमात्र अभ्यस्त छन् । कैयौँ हृदयहरू खोतलेर हेर्यो भने भेटिँदा हुन् सपनाका चिहानै चिहान । यहाँ सपना नहुने कोही छैनन् । जसमा जीवन छ तिनमा सपना छन् । सपना हुनु भनेकै जीवित हुनुको पयार्य हो ।
यद्यपि केही हृदयहरू सपना भएर पनि नभएजस्तो गर्न अभिषप्त छन् । केही आँखाहरू देखेका सपनालाई आँखैमा थुन्न विवश छन् । कैयौँ आँखाहरूलाई, हृदयहरूलाई यो पनि लाग्दो हो कि सपना देख्नु त विलासित हुँदो हो ।
थाहा छैन यी सपनाहरू कहाँ गम खाइरहेछन् ? यी सपनाहरू कहाँ छट्पटाइरहेछन् ? किन छट्पटाइरहेछन् ? मान्छे आफ्नै सपनाको भार उठाउन पनि किन असक्षम भैरहेछ ? आफ्नै सपना साकार गराउन हिँडेको बाटोमा हिँड्दा हिँड्दै किन लड्खडाइरहेछ ? आफ्ना जायज सपनाहरूलाई पनि नाजायजझैँ बर्ताव गरेर किन धिक्कार्छ ?
मानिसहरूसँग लाग्दो हो कि कतै ऊ आफूले देखेका सपनाहरू बोकेर संघर्षको उकालो उक्लिन सक्दैनन् । लाग्दो हो कि उनीहरूले देखेका सपनाको मूल्य आफूले चुकाउन सक्दैन् ।
सपना देख्नु चोरी गर्नु होइन । कसैलाई ढाँट्नु होइन । यो कुनै अपराध पनि होइन । हामी अभिसप्त छैनौँ भएका सपनालाई पनि नभएजस्तो गर्न । हामी विवश छैनौँ आफ्नो सपनालाई आफ्नै आँखाभित्र थुन्न । हामी लाचार छैनौँ आफ्नै सपनाको घाँटी निमोठ्न । सपना देख्नु भनेको आफ्नो मुर्झाउँदै गएको जीवनमा एक झर पानी वर्षाउनु हो । सपना देख्नु भनेको जिन्दगीका धेरै पाटाहरू खोज्नु हो, जिन्दगीका रंगहरू देख्नु हो । सपना देख्नु भनेको आफैँलाई बलियो बनाउनु हो ।
०००
जिन्दगी आफ्नो हो । भविष्य आफ्नो हो । खुसी आफ्नो हो । सपना झन् आफ्नै हो । मान्छेसित सबैभन्दा नीजि केही छ भने त्यो उसको सपना हो । मान्छेको सबैभन्दा आत्मीय केही हुन्छ भने पनि त्यो ऊसको सपना नै हो । मान्छेलाई मान्छे कुनै चीजले बनाउँछ भने त्यो उसकै सपनाले बनाउँछ । मान्छेलाई बाँच्ने प्रेरणा उसकै सपनाले दिन्छ । मान्छेको ओठमा मुस्कानको झण्डा ऊसको सपनाले नै गाढ्ने हो । मान्छेलाई आफैँप्रति गर्व गर्न सिकाउने ऊसकै सपनाले हो ।
यो पक्कै हो कि आफ्नो सपनाले देखाएको बाटो हिँड्न बडो कठिन छ । हो आफ्नो सपनालाई पछ्याउन सजिलो छैन । सपनाले कुनै बाटोमा लान पनि सक्छ । नलान पनि सक्छ । सपना पछ्याउँदा सजिलै कहीँ पुग्न पनि सकिन्छ । पटक पटक अल्मलिन पनि सकिन्छ ।
जसरी पानीमा बाटो हुँदैन र किनारालाई लक्ष्य गर्दै आफैँ बाटो बनाउँदै अघि बढ्नु पर्छ, सपनालाई पछ्याउँदा पनि बाटो नभेटिन सक्छ । बाटो आफैँ बनाउँदै हिँड्नुपर्छ । आफ्नो सपनालाई पछ्याउँदा धेरैपटक लाग्न सक्छ कि यो पछ्याइ निरर्थक छ । लाग्न सक्छ यो मृगतृष्णासरीको भागदौड बाहेक केही होइन । आफैँले आफैँलाई मूर्ख भन्न मन लाग्नेछ, किनभने त्यहाँ हामीलाई मूर्ख भन्ने आवाजहरू प्रशस्त भेटिनेछन् ।
कसैले केही राम्रो भनोस्, वा नराम्रो भनोस्, कुनै लक्ष्यमा पुगोस् वा नपुगोस्, पुरा होस् वा नहोस् तर सपना देख्नु मान्छे हुनुको परिचय हो, सपना देख्न छाड्नुहुन्न ।