सामान्यत: निजी विद्यालयको पोसाक एकै प्रकारको र एउटै हुन्छ । तर, खेल जगत्को महाकुम्भ विश्वकप फुटबलको रौनक चढ्ने क्रममा इटहरीको पशुपति इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भने आफूलाई मन पर्ने देश र खेलाडीको जर्सी लगाएर विद्यालय पुग्न थालेका छन् । विद्यालयले प्रत्येक शुक्रबार आफूलाई मन पर्ने देशको जर्सी लगाएर आउने छुट दिएपछि विद्यार्थीहरू विभिन्न देशका जर्सी लगाएर विद्यालय पुग्न थालेका हुन् । विश्वकप खेलअवधिभरका लागि उक्त छुट दिइएको स्कुलका प्रिन्सिपल सुमित थापाले बताए ।
विश्वकपमा सहभागी हुने राष्ट्र र झण्डाको पहिचान गराउने तथा विश्वकपसम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । विश्वकपमा विभिन्न राष्ट्रले पाएको उपाधि तथा विश्वस्तरीय खेलाडीसम्बन्धी जानकारी विद्यार्थीहरूलाई प्रदान गरिने थापाले बताए । उनले अबको १ महिना विद्यालय फुटबलमैत्री हुने बताए । थापा भन्छन्, ‘विद्यार्थीलाई जुन देशको जर्सी मन पर्छ त्यही लगाउन पाउँछन् ।’
त्यतिमात्र होइन, स्कुल हातामै विश्वकपमा सहभागी हुने राष्ट्र र उनीहरूको झन्डाका साथै जर्सी अंकित ब्यानर राखिएको छ । विद्यार्थीहरूलाई विश्वकप फुटबलको इतिहासदेखि यस पटकको खेलका सम्बन्धमा जानकारी दिने उद्देश्यले उक्त व्यानर राखिएको हो । विद्यार्थीहरूले पनि साप्ताहिक रूपमा तयार पार्ने भित्तेपत्रिकामा विश्वकपसम्बन्धी विषयवस्तुहरू समेटेका छन् । विद्यालयले फुटबललाई केन्द्रित गरेर फुलबलसम्बन्धी शिक्षालाई प्राथमिकता दिन थालेपछि विद्यार्थीहरू उत्साहितसमेत छन् । विद्यालयहरूले फुटबलका साथै अन्य खेललाई यसरी नै प्राथमिकतामा राखेर खेलमैत्री शिक्षा प्रदान गरिने हो भने भविष्यमा सबै खेलमा दक्ष खेलाडी उत्पादन हुने विद्यार्थीहरू बताउँछन् ।
रौनक गाउँदेखि सहरसम्म
मोरङ, सुनसरी र झापाका सहरदेखि गाउँसम्म विश्वकपको रौनक छ । मोरङको उर्लाबारी, पथरी, लक्ष्मीमार्ग, विराटचौक, विराटनगर, सुनसरीको इटहरी, धरान, झापाको दमक, बिर्तामोड आदि क्षेत्रहरूमा विश्वकप हेर्न स्थानीय युवाहरूले प्रोजेक्टरमार्फत ठूलो पर्दामा विश्वकप हेर्ने व्यवस्था मिलाएका छन् । जेठ ३१ देखि असार ३१ सम्म रूसका विभिन्न ११ वटा सहरमा सञ्चालन हुने विश्वकप विराटनगरका एक दर्जन होटलले लाइभ हेर्न सक्ने व्यवस्था मिलाएका छन्, जहाँ खाँदै–पिउँदै विश्वकपको मज्जा लिन सकिन्छ । बजार, चियापसल, सामाजिक सञ्जाल जताजतै अहिले विश्वकपको चर्चा छ ।