साप्ताहिक संवाददाता
लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सागर अधिकारी ‘सरद’को पहिलो एल्वम सार्वजनिक भएको छ । थुप्रै फुटकर गीतमा संगीत दिएका गायक तथा संगीतकार अधिकारीको एकल संगीत रहेको ‘प्रणय’ एल्वम सार्वजनिक भएको छ । गत साता राजधानीमा एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उनको पहिलो एल्वम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक एल्वममा डा. डीआर उपाध्यायका गीतहरु समावेश छन् । सोही कार्यक्रममा गीतकार उपाध्यायको ‘अतिरिक्त’ उपन्यास समेत विमोचन गरिएको थियो । विमोचन कार्यक्रमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले गीत संगीतमा भनेको अनेकतामा एकता ल्याउने तागत रहेको उल्लेख गरे ।
संगीतकार अधिकारीले ‘प्रणय’ आफूले निकै मेहनत गरेर ल्याएको बताउँदै आफूले संगीत पारखीका लागि नयाँ खुराक पस्किएको बताए । हालसम्म आधुनिक गीत गजल, भजन तथा राष्ट्रिय भावका ३० भन्दा बढि गीतमा स्वर दिएका अधिकारीले ७० भन्दा बढि गीतमा संगीत भरिसकेका छन् ।
कार्यक्रममा एल्वममा समावेश एक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।