साप्ताहिक संवाददाता
ऐतिहासिक चलचित्र ‘नालापानी’ उपरदाङ गढीमा छायांकन गरिएको छ । रिमेश अधिकारी निर्देशन गरेको यो चलचित्रमा १८१४ को युद्धलाई उठान गर्ने छ ।
चलचित्रको छायांकनमा नेपाल आर्मीको ठूलो सहयोग रहेको निर्देशक अधिकारीले बताएका छन् ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्ध युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नु परेको थियो।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासाग नेपाली सेनाको मुठभेड भयो । नेपालले तत्कालीन वीर गोर्खाली सेनाका कप्तान बलभद्र कुँवरको नेतृत्वमा अंग्रेजसाग बहादुरीपूर्वक लडाइँ लडेका थिए । सोही कथालाई लिएर चलचित्र ‘नालापानी’ निर्माण गरिएको हो ।
चलचित्रमा रामराजा कुँवर र प्रा.डा.धनबहादुर कुँवरको किताव ‘वीर बलभद्र कुँवर’को कथा समावेश गरिएको छ । चलचित्रमा पुजना प्रधान, अर्जुनजंग शाही, देव गुरुङ, देशभक्त खनाल, मनोज शाक्य, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेका छन् ।