फुटबलको महाकुम्भ विश्वकपमा सहभागी देशका समर्थकहरूले बेलाबेलामा चितवनमा थाम्नै गाह्रो हुने तरङ्ग ल्याउँछन् । चितवनमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, फ्रान्स, पोर्चुगल, बेल्जियम तथा स्पेनका समर्थक बढी भेटिन्छन् ।
सामाजिक सञ्जाल, कलेज तथा चोकमा मात्र समर्थक उपस्थित छैनन्, उनीहरू र्याली नै निकाल्ने तयारीमा जुट्छन्, तर चितवनमा यसपटक समर्थकहरूको र्याली सायदै निस्किएला । विश्वकप सुरु नहुँदै अर्जेन्टिनाका समर्थक यति सक्रिय छन् कि उनीहरूले चितवनमा अरूले भन्दा अघि नै जुलुस निकाल्न खोजे, तर प्रहरीले अगाडि बढ्न दिएन । लगत्तै जुलुस निकाल्ने योजनामा रहेका ब्राजिलका समर्थकहरूले पनि आफ्नो कार्यक्रम रद्द गरे ।
बार्सिलोना फुटबल क्लबका फ्यानहरूको समूह बार्सा नेपालको शाखा पनि छ चितवनमा । उक्त समूहमा धेरैजसो अर्जेन्टिनाका समर्थक आबद्ध छन् । ‘हामी मेस्सीका समर्थक हौं । मेस्सी अर्जेन्टिनाका खेलाडी हुन् । त्यसैले अर्जेन्टिनाको जर्सी लगाएर र झन्डा राखेर मोटरसाइकल जुलुस निकालौं भन्ने योजनामा थियौं’ बार्सा चितवनका उपाध्यक्ष नितेश रानाभाटले बताए ।
जेठ २६ गते भरतपुरको वीरेन्द्र क्याम्पस प्राङ्गणमा ५०/६० जना भेला भए । प्रायले अर्जेन्टिनाको जर्सी लगाएका थिए । उनीहरू सडकमा निस्कनै लाग्दा तीन गाडी प्रहरी आएर रोक्यो । त्यसपछि मोटरसाइकलमा बजार र भरतपुर घुम्ने उनीहरूको योजना अधुरै रहयो ।
ब्राजिलका समर्थकहरू पनि जेठ २८ मा ठुलै जुलस निकाल्ने तयारीमा जुट्दै थिए । ‘तर अर्जेन्टिनाको रोकियो, प्रशासनले कुनै पनि देशको समर्थनमा जुलुस निकाल्न पाइँदैन भनेपछि हामी पनि रोकियौं, ’ ब्राजिलका समर्थक फुटबल खेलाडी कृष्ण कार्कीले बताए । राष्ट्रिय स्तरका खेल खेली सकेका कार्की चितवनमा अर्जेन्टिना र ब्राजिलका प्रशंसक बढी भएको बताउँछन् ।
‘देश–देशको समर्थनमा जुलुसै निकाल्न थालेपछि यो त शक्ति प्रदर्शन गरे जस्तो भयो । शक्ति प्रदर्शन गर्दा खेल भावना कायमै रहन्छ भन्ने छैन । खेल भावना नमरोस् भनेर जुलुसहरू रोकेका हौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले बताए ।
समूह बनाएर खेल हेर्दै
समूह–समूहमा र्याली निकाल्न नपाए पनि युवाहरू बसेर प्रतियोगिता हेर्ने तयारीमा छन् । कृष्ण कार्कीले सन् १९९८ देखि विश्वकप फुटबल हेर्न थालेका हुन् । त्यो बेलादेखि नै उनी ब्राजिलका फ्यान हुन्, तर त्यो बेला अहिलेको जस्तो फ्यानहरूको ठूलो समूह थिएन ।
सन् २००६ को विश्वकपदेखि भने टिभीमा होइन, प्रोजेक्टरबाट ठूलो पर्दामा लाइभ हेर्ने नयाँ चलन सुरु भयो । चोक–चोकमा खेल हेर्न नदिने योजनामा प्रहरी पनि छैन, तर सम्भावित भीडन्त रोक्न भने आफुहरू लाग्ने डिएसपी आचार्यले बताए ।
जर्सी, टिभी र होटलको व्यापार
बजार डुल्दा फुटबल खेल्ने देशका खेलाडीले लगाउने जर्सी नझुन्डिएको पसल फेला पार्न गाह्रो छ । भरतपुरस्थित डीएस स्पोर्टसका सञ्चालक सुभाष अधिकारीका अनुसार उनको पसलमा जर्सी किन्नेहरूको भीड छ ।
‘अर्जेन्टिनाको जर्सी सबैभन्दा बढी बिक्री भएको छ । अर्जेन्टिनाको जर्सी १० वटा बिक्री हुँदा बाँकी अरू देशको जर्सी चार–पाँचवटा बिक्री हुन्छ,’ अधिकारीले बताए । सामान्य ६ सय रुपैयाँदेखि बढीमा १ हजार २ सय रुपैयाँसम्मका जर्सी उनको पसलमा छन् ।
जर्सी मात्र नभएर यो बेला टिभीको व्यापारसमेत बढेको छ । विश्वकपका लागि टिभीमा छुट तथा स्किमहरू छन् । त्यसैले टिभी किन्नेहरूले यही मौका छोपिरहेका छन् । ‘अरू बेला ४० इन्चभन्दा माथिका ठुला टिभी दिनमा सरदर एउटा बिक्री हुने गरेकोमा यो बेला कम्तीमा पनि दिनमा पाँचवटा टिभी बिक्री भैरहेको छ,’ नारायणगढको शुभकामना इलेक्ट्रोनिक्सका सूर्य शर्मा अधिकारीले भने ।
खेल हेर्न चोक–चोकमा मात्र होइन होटलहरूमा पनि जम्मा हुने तयारी धेरैको छ । हो हल्ला हुन्छ भनेर धेरै होटल सञ्चालक सतर्क छन्, तर विश्वकपको माहौलले होटल सञ्चालकहरूलाई पनि मज्जाले छोएको छ । विश्वकप सुरु भएपछि होटलमा स्वभाविक रूपमा भीडभाड बढ्ने नारायणगढस्थित द ग्रिनपार्क होटलका सञ्चालक जोन कँडेल बताउँछन् ।