रूसमा फुटबलको महाकुम्भ सुरु नहुँदै प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा त्यसको ज्वरो चढिसकेको थियो । बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका शिक्षक प्रकाश खनालले जेठ २७ गते आफ्नो फेसबुक वालमा एउटा खेल तालिका पोस्ट गरेका थिए । जसमा विश्वकपमा कुन देश कोसँग खेल्दैछन् भन्ने देखाइएको छ । एउटा समूहबाट अर्जेन्टिना र जर्मनी तथा अर्को समूहबाट ब्राजिल र उरुग्वेलाई सेमिफाइनलमा पुर्याएका खनालले फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडेपछि अन्तत: अर्जेन्टिना विजेता भएको उनको हस्तलिखित टाइसिटमा देख्न सकिन्छ ।
उनले हस्तलिखित यसरी टाइसिट फेसबुकमा पोस्ट गर्दै अर्जेन्टिनाले जितेको देखाउनुको अर्थ हो उनी अर्जेन्टिनाका डाइहर्ट फ्यान हुन् । बुटवलकै मोडल ज्योसनमान गौचनले यसपटकको विश्वकप ब्राजिलले जित्ने दावीसहित ब्राजिलको जर्सीमा सजिएर आफ्नो प्रोफाइल तस्वीर चेन्ज गरेका छन् । प्रकाश र ज्योसनमान जस्तै थुप्रै फुटबल प्रेमीहरू यतिबेला सामाजिक सञ्जालमा आ–आफूलाई मन परेको टिमको पक्षपोषण गरिरहेका छन् । फुटबलका प्रशंसकहरू आफूले मन पराएको देशका जर्सीमा ठाँटिन थालेका छन् ।
बजारमा जताततै विश्वकप फुटबलकै चर्चा छ । राम्रा रेस्टुराँहरू टेलिभिजन तथा प्रोजेक्टरमार्फत विश्वकपका खेलहरू देखाएर ग्राहक तानिरहेका छन् । केही फुटबलप्रेमी सामाजिक संस्था/क्लबहरू सार्वजनिक स्थल/चोकमा प्रोजेक्टरमार्फत विश्वकपका सेमिफाइनल र फाइनलका खेल देखाउने तयारीमा छन् । स्पोर्ट्स सपहरूमा जर्सीको ब्यापार पनि उत्कर्षमा पुगेको छ । विशेष गरी विश्वकप विजेता देशहरूका जर्सीको व्यापार राम्रो हुने व्यवसायी दिलिप गौचनले बताए ।
‘अर्जेन्टिना, ब्राजिल, स्पेन, जर्मनी, पोर्चुगल तथा फ्रान्सको जर्सी बढी बिक्री हुन्छ’ गौचनले बताए । विश्वकपलाई लक्षित गरेर यहाँका रेस्टुराँहरूले विशेष अफर सार्वजनिक गर्न थालेका छन् । ‘फुटबलप्रेमी ग्राहकलाई अघिल्लो विश्वकपमा जस्तै यसपटक पनि पनि विशेष छुटको अफर गरेका छौं, अग्रिम बुकिङ गर्नेलाई २० प्रतिशतसम्म छुट दिने गरेका छौं’ –बुटवलको कालिकापथस्थित लाइम एन्ड लेमन रेस्टुराँका सञ्चालक सागर पौडेल भन्छन्– ‘विश्वकप फुटबलप्रेमीहरूका लागि सबैभन्दा ठूलो उत्सव हो, यस्तोमा हामीले पनि साथ दिनुपर्छ ।’ विश्वकपमा कसले जित्छ भनेर आपसमा बाजी राख्ने चलन अन्यत्र जस्तै बुटवलमा पनि छ तर यसलाई धेरैले सार्वजनिक गर्न चाहँदैनन् । ‘मिल्ने साथी भाइसँगै बसेर विश्वकप हेर्ने अनि बाजी राख्ने कुरा नौलो होइन’–फुटबलप्रेमी पत्रकार भवानीप्रसाद पाण्डे भन्छन्– ‘खेल हेर्नका लागि मात्र होइन थप रमाउन र अतिरिक्त मनोरञ्जनका लागि पनि बाजी थापिन्छ ।’