साप्ताहिक संवाददाता
डालस टेक्ससको बाउ हुँ म
तेरो ग्याँस स्टोरको साहू हुँ म ।
टेक्ससको ड्यालसमा धेरै ग्याँस स्टोर छन् र तिनका कतिपय मालिक पनि नेपाली नै छन् । हो, यही परिवेशलाई आधार बनाएर गाइएको एउटा हिपहप गीतले बजार तातिरहेको छ । गीतका र्यापर हुन्— स्वामी डी, पीएसपीएन तथा अमेरिकी र्यापर बारबी । त्यसो त स्वामी डी स्वयं पनि ग्याँस स्टोरका साहू हुन् । त्यही भएर पनि गीतमा उनले यथार्थता प्रस्तुत गरेका छन् । छोटो अवधिमै उनी र पीएसपीएनले र्यापरका रूपमा पहिचान बनाएका छन् ।
‘हुज योर ड्याडी’ अर्थात् तिम्रो बुबाको ? हिपहप गीतमा उनले आफ्नो वास्तविकता उजागर गरेका हुन् । त्यसो त स्वामी डीले आफू कलाकार नभएको र्यापमै भनेका छन् । गीतमा अंग्रेजी, स्पेनिस तथा हिन्दी शब्दहरू समेत प्रयोग गरिएको छ । गीत हिट बनाउन निर्देशक तथा एडिटर विकास बराइलीले त्यसलाई निकै मसालेदार बनाएका छन् ।
१० लाखभन्दा बढीको लगानीमा डेढ महिना लगाएर टेक्ससको डालसका विभिन्न भागमा छायांकन गरिएको उक्त गीतमा नेपाली तथा अमेरिकी मोडलहरूले अभिनय गरेका छन् । गीतमा उच्च प्रविधि प्रयोग भएको छ भने त्यसमा अभिनय गर्ने अमेरिकन मोडलहरू व्यवसायिक हुन् । नेपाली मोडल संगीता, अनु र सीमा भने पहिलो पटक गीतमा मोडलका रूपमा देखा परेका हुन् । अमेरिकी मोडलहरूको हट पोजले भिडियोलाई तताएको छ । उनीहरूको पहिरन र पोजलाई लिएर केही टीका–टिप्पणी पनि भए । त्यसो त स्वामी डी र पीएसपीएनलाई यो गीतभन्दा अघि ‘बाल हो’ हिपहपले नै र्यापरको परिचय दिएको हो । युट्युबमा उक्त गीतले ५० लाखभन्दा बढी भ्युअर पाएको थियो ।
उक्त गीतले डालसमा बसोबास गर्दै आएका स्वामी डी अर्थात् टम गुरुङ, पीएसपीएन उर्फ प्रतापसागर पुष्पलाल नेपाल तथा धराने विकास अर्थात् विकास बराइलीलाई रातारात हिट बनायो । गीतमा टेक्सस डालसमा साउ बढी भो, कुइरेनी भन्दा नेपालीको भाउ बढी भो भन्दै गाँठिस जिन्दगीको बयान गरिएको छ । डिस्को थेकदेखि जता पनि डिमान्ड, मोडलहरूको तानतान र उच्च लाइफ स्टाइललाई दुई र्यापरले जस्ताको तस्तै उतारेका छन् । अहिले उनीहरू टेक्ससको ड्यालसमा मात्र होइन, हिपहपका तमाम नेपाली पारखीहरूबीच सेलिब्रेटी भैसकेका छन् ।
बिकनीमा सजिएका र्याप गीतका मोडलहरूलाई लिएर उनीहरूले सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया खेपे ।‘भिडियोलाई छाडा भनेर कतिले नराम्रो प्रतिक्रिया पनि दिए,’ गीतका निर्देशक बराइलीले भने, ‘समयको मागलाई भिडियोमा उतारिएकाले त्यस्ता प्रतिक्रियाले हामीलाई खासै फरक परेन ।’ ‘एकै खाले गीत मार्केटमा आएकाले भिडियोलाई केही फरकपन दिन ‘कन्टोभर्सियल’ बनाएका हांै,’ उनले भने । पहिलो गीत ‘बाल हो’ हिट भएपछि स्वामी डिले त्यसमा नकारात्मक प्रतिक्रिया जनाउनेहरूलाई ‘तिम्रो बाबाको’ शीर्षकको दोस्रो गीतमा उत्तर दिँदै भनेका छन्– ‘सनी लियोनको गीतमा कम्मर मर्काएर नाच्नेहरूलाई हाम्रो गीत छाडा भयो रे ।×’ उनले छाडा भन्नेहरूलाई आफूले बाल नदिने समेत बताएका छन् । स्वामी र पीएसपीएनले ठूलै र्यापर हुन गीत गाएका थिएनन् । सौख र रहरले र्याप हानेको गीतले नसोचेको लोकप्रियता दिलाएपछि भने उनीहरू उत्साही छन् । गीतसँगै अमेरिकामा उनीहरूको माग पनि बढेको छ ।
पूर्वको सहर धरान र इटहरीका विकास एवं पीएसपीएन तथा पोखराका स्वामी डीको हिपहपको टिमवर्कले गति लिएको छ । कुनै समय विद्यार्थी भिसामा अध्ययन गर्न अमेरिका आएका उनीहरूले अहिले अध्ययन सकेर आ–आफ्नो पेसा–व्यवसायमा रमाएका छन् ।
नसोचेको सफलता र प्रशंसा पाइयो, स्वामी डिले भने– ‘अब दर्शकको चाहनालाई मर्न नदिन पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै जानेछौं ।’ पोखराबाट झन्डै १५ वर्षअघि विद्यार्थीका रूपमा अमेरिका छिरेका स्वामी डीले विभिन्न कठिन मोड छिचोल्दै अहिले टेक्ससमा आफूलाई व्यवसायीका रूपमा स्थापित गराएका छन् ।
स्वामी डीलाई र्यापमा साथ दिन आए— पीएसपीएन । ६ वर्ष अघि अध्ययनका लागि अमेरिका आएका पीएसपीएन नेपालमा छँदा हिपहप गीतहरू लेख्थे, तर रेकर्डचाहिँ २०११ मा अमेरिका आएपछि मात्र गरिएका हुन् । स्वामी डीसँग भेट भएपछि उनीहरूको जोडी जम्यो ।
ग्याँस स्टोरमा काम गर्दागर्दै मालिक बनेका पीएसपीएन अहिले व्यवसायबाट विश्राम लिएर फेरि अध्ययन तथा हिपहप संगीतमा लागेको बताउँछन् । उनका एक दर्जन हिपहप गीत रेकर्ड भए पनि चार वटा मात्र सार्वजनिक भएका छन् । ‘र्याप भनेको दु:ख मात्र हुँदैन, त्यसमा रोमान्स तथा हामीले अनुभव गरेका भावना पनि हुन्छन्,’ उनले भने, ‘गीतअनुसार भिडियो बनेकाले युट्युबमा लोकप्रिय बन्न पुग्यो ।’
गीतको भिडियो निर्देशन तथा सम्पादनको जिम्मेवारी बहन गरेका विकासको उनीहरूको चर्चाका पछाडि ठूलो मेहनत छ । उनले एक दर्जनभन्दा बढी भिडियो निर्देशन तथा निर्माण गरिसकेका छन् । अहिले उनी सबै काम छाडेर यसैमा लागेका छन् ।
झन्डै एक दशकअघि अध्ययनका लागि अमेरिका आएका विकास पेसाले आर्किटेक्चर हुन् । एकपछि अर्को गीतले लोकप्रियता बटुल्दै गएपछि तेस्रो हिपहप ‘नेपहपको रनवे’ सार्वजनिक गर्ने तयारीमा लागेका छन् उनीहरू । युट्युबमा राखिएको उक्त गीतको टेलर नै यतिबेला दर्शकको रोजाइमा परिसकेको छ ।