साप्ताहिक संवाददाता
यसपटकको विश्वकप २०१८ मा जसरी केही ठूला टिम अनुपस्थित रहने छन्, त्यसरी नै केही ठूला नाम पनि देखिने छैनन् । यसपटकको विश्वकपले यी खेलाडीको प्रदर्शन गुमाउने छ । यी स्टार खेलाडी हुँदा हुन् त प्रतियोगिताको रौनक नै अर्कै हुने थियो ।
गेराथ बेल
सन् २०१६ को युरोमा गेराथ बेलको वेल्सले राम्रो प्रदर्शन गरेको थियो, तर उक्त टिम यसपटकको विश्वकपमा भने छनौट भएन । उनी यसपटकको विश्वकपमा छुट्ने सबैभन्दा ठूलो नाम हुन सक्छन् । रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा प्राप्त गरेको सफलतामा उनको ठूलो हात रह्यो । फाइनलमा लिभरपुलविरुद्ध उनले गरेका दुई गोल निर्णायक रहे । बल यसपटक नयाँ क्लबको खोजीमा छन् र उनले राम्रै मूल्य पनि पाउनेछन् ।
एलेक्स सान्चेज
म्यानचेस्टर युनाइटेडका एलेक्स सान्चेज इंग्लिस प्रिमियर लिगमा सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । उनी प्रत्येक साता ३ लाख पाउन्डको हाराहारीमा तलब थाप्छन् । आर्सनलबाट पछिल्लो सिजन मात्र म्यानचेस्टरमा आएका चिलीका यी खेलाडीले आफ्नो बलियो प्रदर्शनकै कारण यति धेरै महत्त्व पाएका हुन् । यद्यपि सान्चेजले आफ्नो टिमलाई भने विश्वकपसम्म पुर्याउन सकेनन । उनकै खेलको बलमा चिली पछिल्ला दुई कोपा अमेरिकामा त विजयी भयो, तर विश्वकप छनौटको महाभारत भने जित्ने सकेन ।
पिरेर एमरिक एबामेयाङ
अफ्रिकाबाट यसपटकको विश्वकपमा छनौट हुन असफल एक प्रमुख टिम ग्याबोन पनि हो । यसै कारण रूसमा यसका स्टार खेलाडी पिरेर एमरिक एबामेयोङ पनि देखिने छैनन् । पिरेर बोर्सिया डर्टमन्डका लागि जर्मन बुंडेसलिगामा तहल्का मच्चाएयता इंग्ल्यान्ड आएका छन् र केही समयअघि मात्र आर्सनलसँग अनुबन्ध गरेका छन् । अर्को सिजन उनी आर्सनलका प्रमुख खेलाडी हुनेछन् र उनीबाट राम्रो प्रदर्शनको अपेक्षा पनि गरिएको छ, तर उनको खेल रूसमा देखिने छैन ।
आर्जेन रोबिन
आर्जेन रोबिन आफ्नो खेल जीवनको अन्त्यतिर पुगिसकेका छन्, तैपनि उनको खेल उत्तिकै स्तरीय छ । बायर्न म्युनिखको लगातार सफलतामा यी डच खेलाडीको ठूलो भूमिका छ । उनले यसपटक रूसमा खेल्न पाएको भए, त्यो उनको अन्तिम विश्वकप हुन्थ्यो, तर रोबिन दुर्भाग्यशाली रहे । उनकै आँखा अगाडि नेदरल्यान्डको फुटबल ओरालो लाग्दै गयो र रोबिन त्यसलाई निराशापूर्वक हेरिरहन बाध्य भए । डच टिम विश्वकपमा छनौट हुन नसक्नु उनका लागि कतिसम्म दुखदायी थियो भने उनले त्यही पीडामा अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिए ।
जियानलुगी बुफोन
यसपटकको विश्वकप गुमाउने सबैभन्दा ठूला स्टार हुन सक्छन्– गोलरक्षक जियानलुगी बुफोन । इटालीले विश्वकप छनौट गुमाउँदा यी भेट्रान खेलाडीले मैदानमा आफ्नो आँसु रोक्न सकेनन् । कति पीडादायी थियो, इटाली छनौट नहुनु उनका लागि । इटाली यसपटकको विश्वकपमा छनौट भएको भए, यो बुफोनको अन्तिम ठूलो प्रतियोगिता हुने थियो । उनले खेलाडीका रूपमा क्लबदेखि देशका लागि धेरै उपाधि जिते, तर यसपटक आफ्नो टिमलाई विश्वकपमा छनौट भने गराउन सकेनन् ।