आज असार १५ गते पोखरामा दुईवटा महोत्सवको आयोजना हुँदैछ । पोखरा पर्यटन परिषद्को आयोजनामा विगत १४ वर्षदेखि निरन्तर रोपाइँ महोत्सव हुँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यसपटक असार १५ गते १५ औँ सस्करणको रोपाइँ महोत्सव हुन लागेको हो । महोत्सव पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२४ स्थित फेवातालको किनार पामेमा सञ्चालन हुनेछ ।
महोत्सवमा हलगोरु दौड, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड पुरुष तथा महिला, हिलोमा महिला तथा पुरुष पर्यटक दौड, रस्साकस्सी, पत्रकारहरूको हिले दौड आदि प्रतियोगिता सञ्चालन हुने बताइएको छ । महोत्सवका अवसरमा विविध संस्कृतिसमेत प्रस्तुत गरिनेछ ।
यसैगरी कृषि सञ्जाल पोखरा लेखनाथ–२१ को आयोजनामा राष्ट्रिय धान दिवसको अवसरमा प्रथम असारे रोपाइँ महोत्सव पनि आजै शुक्रबार सम्पन्न हुँदैछ । महोत्सवका अवसरमा असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड तथा ख्यातिप्राप्त कलाकारको सांस्कृतिक प्रस्तुति आदि समेटिनेछ ।