सामान्यत: एकपटक स्खलन हुँदा ३ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ र त्यसमा शुक्रकीटको संख्या ४ देखि १२ करोड हुन्छ । मानव शरीरमा वयस्क डिम्ब शरीरको सबैभन्दा ठूलो कोष हो भने शुक्रकीट सबैभन्दा सानो कोष हो । शुक्राणु प्रारम्भिक अवस्थाबाट विकसित हुँदै पूर्ण वयस्क शुक्राणु बन्छ । मानिसमा यो प्रक्रियाका लागि करिब ६१ दिन लाग्छ । सूक्ष्मदर्शक यन्त्रको मद्दतले मात्र देख्न सकिने परिपक्व शुक्रकीट चेपागाँडा आकारको हुन्छ । बनावटको हिसाबले शुक्राणुलाई टाउको र पुच्छर गरी दुई भागमा बाँडिएको छ भने पुच्छरलाई पनि घाँटी, मध्यभाग, मुख्य भाग र अन्त्य गरी थप चार भागमा वर्गीकरण गरिएको छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही महिलाको डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकले मात्र निषेचन गर्न सक्छ । यसरी शुक्रकीट र डिम्ब मिलन भै बनेको कोष दुई–तीन दिनपछि पाठेघरमा बस्न आउँछ र क्रमश: भ्रुण अनि गर्भस्थ शिशुमा विकसित हुँदै जान्छ ।
वीर्यमा पाइने शुक्रकीटको उत्पादन अण्डकोषमा हुन्छ । अण्डकोषमा भएका अति नै मसिना एवं गुँडुल्किएका नलीमा शुक्रकीट बन्ने प्रक्रिया निरन्तर रुपमा चहिरहन्छ । किशोरावस्थामा पुगेपछि शुक्रकीट उत्पादन हुने अनि वीर्य बन्ने प्रक्रिया जीवनभर चलिरहन्छ ।
अण्डकोष नै यसको थैलीमा नझरे, अण्डकोषको विभिन्न खराबी, अण्डकोषमा कुनै चोटपटक, संक्रमण वा जन्मजात खराबी वा अन्य चोटले हुने संरचनागत खराबीका कारण शुक्रकीट उत्पादनमा असर पार्न सक्छ । हार्मोनको मात्रामा गडबडी, वंशाणुगत खराबी, रेडियोथेरापी (विकिरण) तथा कतिपय औषधिले पनि शुक्रकीट उत्पादनमा ह्रास ल्याउन सक्छन् । यसका साथै अण्डकोषबाट वीर्य आउने नलीमा हुने खराबीले पनि वीर्य स्खलनमा समस्या सिर्जना गर्छ ।
त्यसो त वीर्य र शुक्रकीट पृथक् कुरा हुन् । विशेषत: पुरुषहरू किशोरावस्थामा प्रवेश गर्ने क्रममा हस्तमैथुन गर्न थाल्छन् । उक्त क्रमको सुरुवाततिर वीर्य स्खलन नभए पनि यौन सन्तुष्टि (लिंगमा झनझनाहट) प्राप्त हुन्छ । पछि अधिकतर पुरुषमा वीर्य स्खलनसँगै चरम सुख प्राप्त हुन्छ । वीर्यमा शुक्रकीटसँगै वीर्यथैली र पौरुष ग्रन्थि रस, शुक्रकीटका लागि आवश्यक पोषण तत्व, रसायन तथा श्लेष्मसँगै निश्चित मात्रामा पानी हुन्छ । मानव यौन प्रतिक्रिया चक्रका क्रममा यौन उत्तेजनाका बेला प्लेटो चरणपछिको चरम सुुख प्राप्तिको चरणमा गाला, अनुहार, छालामा रातोपन देखापर्छ भने श्वास प्रक्रिया तथा मुटुको चाल बढ्नुका साथै विशेषत: पुरुषमा वीर्य थैलीलगायतका पौरुष ग्रन्थि, मूत्रनली, लिंग एवं आन्तरिक अंग खुम्चिने क्रममा वीर्य मूत्रनली हुँदै धकेलिएर बाहिर स्खलन हुन्छ ।
लिंग उत्तेजना यथेष्ट मात्रामा भए पनि वीर्य स्खलन नहुनसक्छ । कतिपय अवस्थामा यौनेच्छा सामान्य भएपनि चरम सन्तुष्टिको मात्राअनुरूप वीर्य स्खलन हुँदैन । कतिपयमा भौतिक रुपमा वीर्य स्खलन नहुने कारणले मानसिक रुपमा पूर्ण यौन सन्तुष्टिको अनुभूति नहुनसक्छ । कालान्तरमा यसले नि:सन्तान वा नपुंसक पो हुन्छु कि भन्ने पिरले सताउन सक्छ । कहिलेकाहीँ बाहिरतिर स्खलित हुनुपर्ने वीर्य मूत्रथैलीतिर गएर स्खलन नभएजस्तो हुनसक्छ, जसलाई यौनसम्पर्क अर्थात् चरम सुखपछि पिसाब परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।
वीर्य स्खलन नहुनुको कारण मानसिक, शारीरिक तथा परिस्थितिजन्य हुनसक्छ । चरम सन्तुष्टिको अभाव, यौन साथीसँगको खराब सम्बन्ध, चिन्ता एवं तनावपूर्ण वातावरण, गर्भसम्बन्धी भय लगायतका मानसिक कारणले वीर्य स्खलनमा समस्या सिर्जना गर्न सक्छन् । पौरुष ग्रन्थि एवं मूत्र थैलीको शल्यक्रिया, संक्रमण तथा उक्त क्षेत्रमा जोडिएका स्नायुमा समस्या उत्पन्न भएर पनि वीर्य स्खलन नहुने हुनसक्छ । त्यसका अतिरिक्त मधुमेह, मेरुदण्डको चोटले पनि वीर्य स्खनल नहुने समस्या सिर्जना गर्नसक्छ ।
प्रत्येक पटकको हस्तमैथुन वा यौनसम्पर्कपछि वीर्य स्खलन हुनैपर्छ भन्ने मानसिक दबाब लिनु हुँदैन । विविध कारणले यौनसम्पर्क स्थापित गर्न नचाहेको अवस्थामा अर्थात् बाध्यतावश यौनसम्पर्क राख्नुपर्दा पनि वीर्य स्खलन नै नहुने त होइन तर त्यसका लागि बढी समय लाग्न सक्छ । यस्तो परिस्थितिमा पाक्क्रीडाको विशेष महत्व हुन्छ । गर्भ रहला तथा नि:सन्तान होला कि भन्ने चिन्ताबाट मुक्त हुने वातावरण हुनुपर्छ । पौरुष ग्रन्थिको संक्रमण, मूत्रनलीको संरचनागत उपचार (शल्यक्रिया) पनि वीर्य स्खलन नहुने समस्याको उपचार हुनसक्छ । अन्य कारणको उपचारपछि पनि सन्तोषजनक उपलब्धि प्राप्त भएन भने भाइब्रेटर अथवा विद्युतीय तरंगको उपचार लाभदायक साबित हुनसक्छ । यदि त्यसपछि पनि नि:सन्तानको समस्या कायम रह्यो भने कृत्रिम गर्भाधानबाट गर्भाधारण गराउन सकिन्छ ।