साप्ताहिक संवाददाता
असार १६, २०७५
युवा क्रिकेटर सन्दीप लामिछाने अब गायकका रूपमा समेत सुनिने भएका छन् । उनले आफ्नै स्वरमा रेकर्ड गराएको पहिलो गीत ‘उदास मेरो...’ को म्युजिक भिडियो हिजो बिहीबार अपराह्न सार्वजनिक भयो । सुगम संगीतमा आधारित उक्त गीत सन्दीपले आफ्नो एल्बम ‘प्रतीक्षा द वेटिङ’ मा समावेश गर्ने बताएका छन् ।
रमाइलो कुरा के छ भने उक्त गीतका संगीतकार पनि सन्दीप स्वयं नै हुन् । आफ्नो यो पहिलो म्युजिक भिडियोमा गायक तथा संगीतकार सन्दीपले अभिनयसमेत गरेका छन् ।
सन्दीपको गीतको भिडियोका निर्देशक निशान कश्पयका अनुसार बलिङमा अब्बल सन्दीपले गायन, संगीत तथा अभिनयमा पनि प्रसस्त सम्भावना देखाएका छन् । उक्त भिडियोमा सन्दीप औपचारिक पहिरनमा प्रस्तुत भएका छन् भने भिडियोमा उनका अतिरिक्त जीवन भट्टराई तथा सृष्टि खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।