यतिबेला केटाकेटीदेखि युवायुवती तथा वृद्ध–वृद्धासम्म विश्वकपमै झुम्मिएका छन् । प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की क्वाटरमै विश्वकप फुटबलमा रमाइरहेका छन् । ब्राजिलका समर्थक मन्त्री कार्कीसँगै नेपाल कम्युनिस्ट पार्टी मोरङका नेता रुपेश खतिवडा पनि ब्राजिलका समर्थक हुन् ।
उनी पनि मन्त्री कार्कीसँगै बसेर विश्वकपमा रमाउने गरेका छन् । मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद कुल लिम्बू पनि रात नभनी विश्वकप फुटबल हेर्ने गरेका छन् । पोर्चुगलका समर्थक सांसद लिम्बू घरमा परिवारका साथ फुटबलमा रमाइरहेका छन् । फुटबलका पूर्व राष्ट्रिय खेलाडी सञ्जीव बुढाथोकी पनि यतिबेला विश्वकप फुटबलमै रमाइरहेका छन् ।
बुढाथोकी भन्छन्– विश्वकप फुटबल प्रतियोगिता एउटा महाकुम्भ हो, जो–कोही यसमा रमाउँछन् । थ्रीस्टार क्लबमा आबद्ध फुटबल खेलाडी रञ्जित धिमाल पनि विश्वकप फुटबलका हरेक म्याच हेर्न छुटाउँदैनन् । ब्राजिलका समर्थक धिमाल दोस्रो चरणसँगै खेल अझ रोमाञ्चक हुने बताउँछन् । चिया पसलदेखि महलसम्म विश्वकप फुटबलकै गफले स्थान पाइरहेको छ । अरू कुनै काम छैन, इलम–धन्दा छैन, तर फुटबलसम्बन्धी टाउको दुखाई भने गज्जबकै छ ।
विवादमा चक्कु प्रहार
यसबीच उर्लाबारी–६ का २७ वर्षीय विशाल तामाङलाई चक्कु प्रहार गर्ने जनप्रतिनिधिविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवं तरुण दल मोरङका सचिव ३५ वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेको आरोप छ ।
उर्लाबारी– ५ स्थित एरोमा होटलबाट घरतर्फ जान लागेका तामाङमाथि शाक्यले शुक्रबार बिहान ३ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सोही घटनालाई लिएर उर्लाबारीका यादव भण्डारीविरुद्ध पनि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ भने होटल सञ्चालक रोशन भुर्तेलविरुद्ध सार्वजनिक मुद्दा चलाइएको छ । यसबीच छुरा प्रहारबाट पेटमा चोट लागेर घाइते भएका तामाङको उपचार भैरहेको छ ।
अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिस्पर्धा हेरिसकेर घर फर्किने तयारी गर्दा गर्दै दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार छन् । उर्लाबारी जेसिजको २०१८ का अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । घाइते तामाङ भने मोरङ–११ फुटबल टिमका सदस्य हुन् । उनी यसअघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् ।