अनलाइन मिडियामा न्युजिल्यान्डका पर्सनल ट्रेनर जोसेफ राचिकको माग अत्यधिक छ । उनी अनलाइनमार्फत हजारौं व्यक्तिलाई शारीरिक अभ्यास गराइरहन्छन् । उनकी प्रेमिका हुन्— मार्याम माति, जसलाई जोसेफ मिमी पनि भनिन्छ ।
जोसेफ मिमीलाई अत्यधिक चाहन्छन् । यही कारणले गर्दा नै गत भ्यालेन्टाइन डेमा उनले मिमिलाई १ हजार गुलाबको फूल तथा एउटा हरियो रंगको ल्याम्बोरहिनी कार उपहार दिए । अब अनुमान गर्नुस् त, उनले मिमीसमक्ष विवाह प्रस्ताव राख्दा के गरे होलान् ?
हालै उनले मिमीसमक्ष विवाह प्रस्ताव राख्न उनको आँखामा पट्टी बाँधेर हेलिकप्टर चार्टर गरी न्युजिल्यान्डको मुख्य रंगशाला इडेन पार्कमा अवतरण गराए । यसका लागि उनले इडेन पार्क नै बुक गरेका थिए । हेलिकप्टर अवतरण गरेपछि जोसेफले आँखामा पट्टी बाँधेकी प्रेमिकालाई बोकेर एउटा बाकसको अगाडि ल्याए अनि आँखाको पट्टी खोलिदिँदै बाकस खोल्न भने । उक्त बाकसमा गुलाबी रंगको ल्यान्डरोभर जिप थियो । त्यसपछि जोसेफले विवाहको प्रस्ताव राख्दै उनको औंलामा चमचमाउँदो हीराको औंठी लगाइदिए ।