साप्ताहिक संवाददाता
भारतमा यस्तो इलेक्ट्रिक बाइकको विकास गरिएको छ, जसको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ५ सय किलोमिटर गुड्न सक्छ । कर्नाटक राज्यको हुब्लीमा स्थापित मेनकेम अटोमोटिभद्वारा निर्माण गरिएको यो मोटरसाइकलको नाम ईपी–१ राखिएको छ । पर्फमेन्सको मामिलामा यसलाई हालसम्मकै सर्वाधिक राम्रो इलेक्ट्रिक बाइक मानिएको छ ।
यो इलेक्ट्रिक बाइकमा ८० किलोग्रामको लिक्विड कुल्ड ब्याट्री युनिट छ । यसलाई एड्भान्स्ड म्यानेजमेन्ट सिस्टमद्वारा नियन्त्रण गर्न सकिन्छ । उक्त पावर प्याकको वजन ८० किलोग्राम छ । यसलाई राख्दा बाइकको कुल तौल १ सय ८० किलोग्राम हुन्छ ।
हाल यसको प्रोटोटाइप निर्माण गरेर परीक्षण सम्पन्न गरिएको छ । कम्पनीका अनुसार सन् २०२२ देखि बजारमा उपलब्ध हुने यो बाइक २ सय ५० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्न सक्छ ।
मेनकेम कम्पनीले यसलाई सुरक्षित बनाउन एबीएस तथा ट्रयाक्सन कन्ट्रोल सिस्टमलाई नियन्त्रण गर्ने सफ्टवेयर निर्माण गरेको छ । यसमा स्टिल फ्रेम प्रयोग गरिनुका साथै ब्रेम्बो कम्पनीको गुणस्तरीय डिस्क ब्रेक जडान गरिएको छ ।