साप्ताहिक संवाददाता
युनेस्को वल्र्ड युथ फेस्टिभल कार्यक्रममा सहभागी हुन हामी सन् २००६ मा जर्मनी पुग्यौं । जिटीजेड संस्थामा कार्यरत टिम लिडर थिए— समिर खनाल । हामी जम्मा ७ जना थियौं । सन् २००४ मा एएफसी अन्डर १९ च्याम्पिनसियनसिप क्वालिफाइड राउन्डका विजेताहरूलाई छनौट गरिएको थियो त्यसमा । त्यसमध्ये जर्मनीको राजदूतावासले अन्तर्वार्ता लिएपछि छानिएका हामी ७ जना विश्वकप फुटबलमा सहभागी भयौं । नीराजन खड्का, सन्दीप राई, सन्तोष साउखल, शिशिर अधिकारी, संगीत रजक, मानसजन राजभण्डारी आदि युवाहरू थियौं त्यसमा ।
त्यो बेला म १८ वर्षको थिएँ । भर्खर नोबेल एकेडेमीबाट प्लस टु पूरा गरेको थिएँ मैले । त्यो बेला म धेरै नै उत्साहित थिएँ । अझ लाइभ हेर्ने भनेपछि उत्साह थप भएको थियो । सुरुमा त जान पाउँछु कि पाउँदिनँ निश्चित थिएन । एक–दुई दुई दिनमै परिणाम आयो । समिर खनालले खबर गर्नुभयो । मलाई एकदमै रमाइलो लाग्यो । त्यहाँ गएर हेर्न पाउने भन्ने पनि निश्चित थिएन । सुरुमै त्यसका बारेमा खुलाइएको थिएन । लाइभ नै हेर्न पाइने भन्ने थिएन । युनेस्कोले विश्वकपसँग सहकार्य गरेको रहेछ । त्यही भएर हामीले टिकट पायौं । जर्मनी र पोर्चुगलबीचको खेल हेर्ने अवसर मिल्यो । त्यो ९० मिनेट कसरी बित्यो पत्तै भएन ।
त्यहाँको वातावरण नै अर्कै थियो । कोही गाएको गायै छन्, कोही हल्ला गरेका गर्यै छन्, कोही नाचेका नाच्यै छन्, कोही कसैको नाम लिएर चिच्च्याइरहेका छन् । रोनाल्डोको खुट्टा छिटो चल्थ्यो । ठम्याउनै सकिन । कति छिटो चल्दो रहेछ । त्यो बेला पनि उनी सुपरस्टार नै थिए । उनले देखाएको क्षमता, प्रदर्शन गरेको खेल अद्भुत थियो । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिनँ ।
जर्मनी १० दिन बसियो । धेरै रमाइलो भयो । त्यहाँको वातावरण नै अर्कै थियो । स्टेडियम पनि भयंकर थियो । त्यसमा ७० हजार मानिस अटाउँथे । चकित बनायो सुरुमा त । त्यति धेरै दर्शक आउँदा पनि यति राम्रो व्यवस्थापन थियो कि प्रभावित नभैरहन सकिएन । हजारौं मानिस ओहोर–दोहोर गर्दा पनि ठेलमठेल थिएन । कोही हराउने समस्या पनि थिएन ।