साप्ताहिक संवाददाता
अभिनेत्री करिश्मा मानन्धर यतिबेला कक्षा १० मा अध्ययनरत छिन् भन्ने कुरा नौलो रहेन । उनी यही वर्षको अन्त्यमा सञ्चालन हुने एसईईको तयारी गरिरहेकी छिन् भन्ने कुरा पनि यसअघि नै सार्वजनिक भैसकेको छ । करिश्मा विद्यार्थीका रूपमा नियमित रूपमा विद्यालय गएर कक्षा लिइरहेकी छिन् भन्ने कुरा उनी स्वयंले विभिन्न अन्तर्वार्तामा बताउँदै आएकी छिन् । करिश्मा स्कुल जाँदा युनिफर्ममै हुन्छिन् ।
उनलाई युनिफर्ममा विद्यार्थीझैं देखिएको प्रतिक्रियासमेत सार्वजनिक भैरहेका छन् । रमाइलो कुरा त के छ भने सार्वजनिक समारोहमा उपस्थित हुँदा करिश्माले लगाउने पहिरनले अधिकांशको ध्यान तान्ने, गसिप बन्ने तथा टीका टिप्पणी हुने क्रम बढेको थियो । पहिरनकै कारण आलोचना बढ्न थालेपछि करिश्माले त्यसलाई निस्तेज तुल्याउने एउटा नयाँ उपाय निकालेकी छिन्, सार्वजनिक समारोहमा सहभागी हुँदा स्कुल यूनिफर्म मै जाने ।
समारोहहरूमा उनलाई युनिफर्ममै देखिँदा सुरु–सुरुमा धेरैले अनौठा मानेका थिए, तर मध्याह्न आयोजना हुने अधिकांश समारोहमा युनिफर्ममै प्रस्तुत हुनथालेपछि करिश्मालाई ग्ल्यामरस देखाउन खोज्ने फोटो पत्रकारका क्यामेरा भने अर्कैतिर सोझिन थालेका छन् ।