साप्ताहिक संवाददाता
रूसमै पुगेर केही नेपालीले प्रत्यक्ष विश्वकप फुटबलको मज्जा लिएका छन् । त्यतिमात्र होइन चन्द्र–सूर्य अंकित नेपालको राष्ट्रिय झन्डा रंगशालामै फहराएर विश्वका अर्बाैं दर्शकमाझ नेपाललाई चिनाएका छन् । पूर्वाञ्चलको मकालु टेलिभिजनको एउटा टोली प्रत्यक्ष फुटबल हेर्न रूस पुगेको हो ।
सिइओ दिवस सुवेदी, उपेन्द्र राई, पर्वत राई, मिनकुमार श्रेष्ठ, वीरेन्द्र भगत तथा जेनिश कोइरालासहितको ८ जनाको टोली रूस पुगेर विश्वकप खेलको प्रत्यक्ष मज्जा लिएर फर्किएको छ । उनीहरूले पोर्चुगलविरुद्ध स्पेन, ब्राजिलविरुद्ध स्वीजरल्यान्ड, इङ्ल्यान्डविरुद्ध ट्युनेसिया तथा पोर्चुगलविरुद्ध मोरोक्कोको खेल प्रत्यक्ष हेरेका थिए । खेलका क्रममा उनीहरूले फहराएको नेपालको राष्ट्रिय झन्डा टेलिभिजन प्रत्यक्ष प्रसारणमा समेत एक्सपोज भएको थियो ।
‘नेपालको राष्ट्रिय झन्डा हातमा बोकेर विश्वभरबाट ओइरिएका दर्शकसँगै बसेर स्टार फुटबलरहरूको खेल प्रत्यक्ष हेर्न पाउनु दुर्लभ सपना जस्तै लाग्दो रहेछ’, प्रेस युनियन मोरङ अध्यक्ष मीनकुमार श्रेष्ठ भन्छन्— त्यसबाट प्राप्त खुसी र आनन्द वर्णन गरेर साध्य छैन ।
फुटबल हेर्न आउने धेरै विदेशी दर्शककालागि नेपाली झण्डा नै आकर्षणको विषय भएको उल्लेख गर्दै उनले भने– धेरैले हाम्रो झन्डासँग तस्बिर खिचाए । उनीहरू निजी खर्चमा फुटबल हेर्न रूस पुगेका हुन् ।