साप्ताहिक संवाददाता
गायक राजेश पायल राईको सर्वाधिक लोकप्रिय गीत ‘बैगुनी रै’छौ मायालु’ ले नौलो कीर्तिमान कायम गरेको छ । झन्डै २३ वर्षअघि रेकर्ड गरिएको उक्त गीतको कुनै म्युजिक भिडियो निर्माण गरिएको थिएन । रेकर्ड भएको झन्डै साढे दुई दशकपछि म्युजिक भिडियो बन्ने सम्भवत: यो पहिलो नेपाली गीत हुनुपर्छ ।
भरत बमजनको शब्द तथा वसन्त मुकारुङको संगीतको उक्त गीत गायक राजेशपायल राईको सांगीतिक करियरकै टर्निङ प्वाइन्ट थियो । दुई दशकअघि नेपालमा म्युजिक भिडियो निर्माणको क्रम नै प्रारम्भ नभएकाले उक्त गीत भिडियोका रूपमा आएको थिएन ।
यद्यपि अहिले आएर नेपाल टेलिभिजनका सञ्चारकर्मी दीपक समिरले यसलाई भिडियोको स्वरूप प्रदान गरेका छन् । समीरकै निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो केही दिनमै दर्शकमाझ आउँदैछ । भिडियोमा अभिनेता श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली तथा वर्षा चौलागाईंले अभिनय गरेका छन् ।