साप्ताहिक संवाददाता
सडक नाटक ‘हाम्री चेली’ उपत्यकाका विभिन्न स्थानमा मञ्चन गरिएको छ । विश्वास नेपालको अप्सरा परियोजनाको प्रस्तुति एकप्याट लक्जम्बरको सहयोगमा ‘हाम्री चेली’ उपत्यकाका विभिन्न स्थानमा मञ्चन गरिएको हो ।
‘रेस्टुरेन्ट श्रमिक महिलाहरूका लागि हाम्रो आवाज पेसागत हिंसा मुक्त समाज’ भन्ने नारासहित सुरु गरिएको सडक नाटकमा रेस्टुराँ तथा मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको हक–हितका कुरा उठाइएको थियो । प्रलोभनमा पर्दा चेलीहरू कस्ता–कस्ता दुर्घटनामा पर्न सक्छन् भन्ने कुरा यो नाटकमा प्रस्तुत गरिएको छ ।
चाबहिल, गौशाला, कालोपुल, गोंगबु, महाराजगञ्ज, कलंकी, कोटेश्वर, नयाँबजार, रत्नपार्क, सुनधारा आदि स्थानमा मञ्चन गरिएको यो नाटकमा विश्वदीप घिमिरे, जयराम सापकोटा, शान्ति दाहाल, सावित्री बस्नेत, समुन्द्र बानियाँ, शर्मिला बस्नेत, देवकी भण्डारी, सुमित्रा श्रेष्ठ, सरिता सिलवाल आदि कलाकारले अभिनय गरेका छन् ।