साप्ताहिक संवाददाता
विद्यार्थीहरूलाई स्तरीय कलेजका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले आज शुक्रबार राजधानीको भृकुटीमण्डपमा काठमाडौं पोष्ट एडुकोन शैक्षिक मेला प्रारम्भ हुँदैछ । उच्च शिक्षा अध्ययन गर्न स्तरीय कलेजको खोजीमा रहेका विद्यार्थीहरूलाई सहजै कलेज छनौट गर्न सहयोग मिलोस भन्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको कान्तिपुर पब्लिकेसन्सका एजिएम महेश स्वाँरले बताएका छन् ।
स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीहरूप्रति लक्षित मेलामा स्वदेशी एवं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको स्टल रहनेछ । नेपाली कलेजमा अध्ययन गर्ने विद्यार्थीका साथै विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिन मेलामा कन्सल्टेन्सीहरूको स्टल पनि रहने छन् । स्वदेशमै अध्ययन गर्न चाहनेहरूले त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखराका साथै अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको स्टलबाट विस्तृत जानकारी लिन सक्ने छन् भने विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट स्वीकृत पाएका कलेजहरूको स्टल पनि मेलामा रहनेछ ।
मेलामा विद्यार्थीहरूले सिधै कलेज सञ्चालक, प्रिन्सिपल तथा कलेजमै अध्ययन गरिरहेका विद्यार्थीहरूसँग भेट गरी आवश्यक जानकारी लिन सक्नेछन् जसले गर्दा मेला विद्यार्थी तथा अभिभावकहरूका लागि थप फलदायी हुने स्वाँरले बताए । मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरूले कुन कलेजमा के–कस्तो सुविधा छ ? के–के विषय अध्यापन हुन्छ ? कति शुल्क लाग्छ ? भन्ने कुरा सहजै जानकारी लिन सक्छन् भने विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले भिसा प्रक्रियादेखि विश्वविद्यालय छनौटको समेत जानकारी लिन सक्नेछन् ।
मेलामा शैक्षिक ऋणको जानकारी प्रदान गर्ने नबिल बैंकको स्टल पनि रहनेछ भने बिमाको जानकारीका लागि सिटिजन लाइफ इन्स्योरेन्सको स्टल उपलब्ध हुनेछ । नि:शुल्क प्रवेश पाइने यो मेलामा हरेक दिन उत्प्रेरणा कक्षा तथा करिअर काउन्सिलिङको व्यवस्था समेत छ । मेलामा सहभागी विद्यार्थीहरूले ‘लक्की ड्र’ मार्फत नोकिया फोन, फिल्मको टिकट, काठमाडौं फन भ्यालीको टिकट तथा माउन्टेन फ्लाइटको टिकट जस्ता पुरस्कार समेत जित्न सक्नेछन् ।