साप्ताहिक संवाददाता
युट्युबका नियमित दर्शकलाई गायिका त्रिशाला गुरुङको नाम नौलो होइन । त्रिशाला व्यवसायिक गायिका होइनन्, उनी प्राय: कभर गीत गाउँछिन् । यद्यपि उनका कभर गीत नै यति लोकप्रिय हुन्छन् कि दर्शकहरू उनका नयाँ–नयाँ गीतको प्रतीक्षामा हुन्छन् । पछिल्लो पटक उनले गाएको एउटा कभर गीत त ट्ेरन्डिङको उत्कृष्ट पाँचमा पर्न सफल भयो ।
‘सपना भै आँखामा आउने को होला....’ कभर गीतको भिडियोलाई २३ लाख ३७ हजारभन्दा धेरै पटक हेरिएको छ । यसबाहेक उनले थुप्रै लोकप्रिय नेपाली तथा हिन्दी गीतका कभर भर्सन आफ्नो यूट्युब च्यानलमा अपलोड गरेकी छिन्, जसलाई लाखौं पटक हेरिएको छ ।
रमाइलो कुरा के छ भने युट्युबमा त्रिशालाका दुईवटा च्यानल छन्, एउटा त्रिशाला गुरुङ शीर्षकमा छ भने अर्को त्रिशाला गुरुङ टिजी शीर्षकमा । कभर गीतहरूको लोकप्रियतासँगै कन्सर्टमा समेत उनको सक्रियता बढ्न थालेको छ । यति हुँदाहुँदै पनि त्रिशालाले आफ्नो ओरिजिनल गीत सार्वजनिक गर्ने हिम्मत गरेकी छैनन् । आशा गरौं, उनी चाँडै आफ्नो मौलिक गीत लिएर झुल्कनेछिन् ।