साप्ताहिक संवाददाता
असार २३, २०७५
इन्टरनेसनल स्पेस स्टेशन (आईएसएस) मा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स रोबोट (एआई रोबोट) पठाइएको छ । उक्त रोबोटले अन्तरिक्ष यात्रीलाई चिन्ने र आईएसएसलाई नेभिगेट गर्ने गरी प्रोग्रामिङ गरिएको छ ।
उक्त रोबोट क्रु इन्टर्याक्टिभ मोबाइल कम्प्यानियन अर्थात् सिमोनका रूपमा चिनिने छ । यो एआईमा आधारित पहिलो मिसन र फ्लाइट असिस्टेन्ट सिस्टम हो । यसले दैनिक समस्या समाधान गर्नुका साथै कुनै प्राविधिक समस्या आए चेतावनीसमेत दिनेछ ।
सिमोनमा फ्रन्ट फेसिङ क्यामेरा छ । यसले आईबीएमको वाटसन एआई सिस्टममा आधारित रहेर काम गर्नेछ । यसलाई अन्तरिक्ष यात्री अलेक्जेन्डर जस्र्टको भ्वाइस स्याम्पल तथा तस्बिरका आधारमा प्रशिक्षित गरिएको छ ।