साप्ताहिक संवाददाता
ब्राजिलविरुद्ध बेल्जियम
ब्राजिल र बेल्जियम ४ पटक एक–आपसमा भिडेका छन् । त्यसमध्ये ३ खेलमा ब्राजिल विजयी भएको छ । अन्तिम पटक ब्राजिलले विश्वकप २००२ को अन्तिम १६ मा बेल्जियमलाई २–० ले हराएको थियो । बेल्जियमले पनि लगातार ४ खेल जितेको छ । टिमका अधिकांश सदस्य देशको स्वर्णिम पुस्ताका खेलाडी हुन् । ब्राजिल यसपटकको विश्वकपको सबैभन्दा बलियो दावेदार हो । उसको डिफेन्स कमजोर छ, तर नेयमार ठीक समयमा लयमा देखिएका छन् ।
उरुग्वेविरुद्ध फ्रान्स
उरुग्वेविरुद्ध फ्रान्सको प्रदर्शन राम्रो छैन । यी दुई टिम अहिलेसम्म ६ पटक एकअर्काविरुद्ध भिडेका छन्, जसमा फ्रान्स एकपटक पनि विजयी भएको छैन, बरु उरुग्वेले २ खेल जितेको छ भने ४ खेल बराबरीमा टुंगिएका छन् । अहिले यी दुवै टिम लयमा छन् । उरुग्वेले लगातार ४ खेल जितेको छ । उसको सबैभन्दा ठूलो चुनौती लयमा रहेका फ्रान्सेली फरवार्ड केयलिन एमबापेलाई रोक्नु हुनेछ । फ्रान्सको खेलमा भने एकरूपता छैन । उसले अर्जेन्टिनाविरुद्ध राम्रो खेले पनि अन्य खेलमा उसको प्रदर्शन अपेक्षाअनुरूप थिएन ।
स्वीडेनविरुद्ध इंग्ल्यान्डयी दुवै टिम अन्तिम आठमा पुग्छन् भन्ने अपेक्षा गरिएको थिएन । इंग्ल्यान्ड युवा खेलाडीले भरिएको छ । उसको डिफेन्स कमजोर छ, तर टिमको आक्रामक प्रदर्शनले सबैलाई प्रभावित तुल्याएको छ । स्विडेन र इंग्ल्यान्डबीच भएका खेलको इतिहास लामै छ । उनीहरूले माथिल्लो दर्जाको फुटबलमा कम्तीमा २४ पटक एक–अर्काविरुद्ध खेलेका छन्, जसमा इंग्ल्यान्ड ८ पटक विजयी रह्यो भने स्वीडेन ७ पटक । त्यस क्रममा ९ खेल बराबरीमा टुंगिएका थिए ।
रुसविरुद्ध क्रोएसिया
आयोजक रुसका लागि क्वाटरफाइनलसम्म पुग्नु नै ठूलो उपलब्धि हो । क्रोएसिया पनि लयमा रहेको टिम हो । अर्जेन्टिनाविरुद्ध उसको प्रदर्शन सानदार थियो । अहिलेसम्म यी दुई टिम एक–अर्काविरुद्ध ३ पटक भिडेका छन्, जसमा रुसले जित आत्मसात् गर्न सकेको छैन । उनीहरूबीच युरो–२००८ छनौटका क्रममा २ खेल भएको थियो । दुवै खेल बराबरीमा टुंगिएको थियो भने अर्को एउटा मैत्रीपूर्ण खेलमा क्रोएसिया ३–१ ले विजयी भएको थियो ।