साप्ताहिक संवाददाता
मनोरञ्जनका अनेकौं खुराक उपलब्ध हुने युट्यबुमार्फत समाजसेवा समेत गर्न सकिन्छ भन्ने कुरा युवा सञ्चारकर्मी जीवन पराजुलीले प्रमाणित गरेका छन् । झन्डै एक दशक अघिदेखि रंग पत्रकारितामा सक्रिय पराजुलीले आफ्नो भेरिफाइड युट्युब च्यानल ठूलोपर्दा टिभीमार्फत समाजलाई योगदान मिल्ने सामग्री प्रस्तुत गरिरहेका छन् ।
उक्त च्यानलबाट प्रसारण भएको क्यान्सर पीडित कलाकार दीपक क्षेत्रीको स्वास्थ अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले लिइएको अन्तर्वार्ताका कारण विश्वभरका नेपालीले आर्थिक सहयोग गरेर उनको जीवनरक्षा गरे ।
पराजुलीले हास्य अभिनेता सुरज चापागाईं बान्द्रेको वैवाहिक समारोहमै लिएको अन्तर्वार्ताका क्रममा एउटा अनाथ आश्रमलाई आर्थिक सहयोग गराएका थिए । उक्त भिडियो भाइरल भएपछि आश्रमलाई सहयोग गर्नेहरुको संख्या पनि निकै बढ्यो ।
त्यसबाहेक आफ्नो च्यानलमार्फत कीर्तिपुरमा सञ्चालित बेबी लाइफ होम, स्नेही काख, मुहसर बस्तीका बासिन्दाहरुको कथा व्यथा, मृगौला रोग पीडित गायिका जलजला परियारका बुवा–आमासम्बन्धी सामग्री, लक्ष्मी प्रतिष्ठानका विष्णु गौतमसँगको कुराकानी, जिग्री–पाँडेद्वारा निर्मित वस्तीको स्थलगत रिपोर्टिङ जस्ता सामग्रीले सम्बन्धित कार्यमा आर्थिक सहयोग जुटेको पराजुलीको दाबी छ ।
केही रेडियो तथा टेलिभिजनमा काम गरिसकेका पराजुली अहिले पनि समाजलाई फाइदाजनक सावित हुने सामग्री खोजी–खोजी आफ्नो च्यानलमा स्थान दिइरहेको बताउँछन् ।