बुहारी भित्र्याउँदै प्रकाशमान सिंह
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह ससुरा बन्ने भएका छन् । नेता प्रकाशमान सिंह तथा सिर्जना सिंहका जेठा छोरा अर्थात् गणेशमान सिंहका नाति प्रभासमान सिंहको गत शुक्रबार हिन्दू परम्पराअनुसार निकिता पाण्डेसँग कुरा छिन्ने कार्य (इन्गेजमेन्ट) सम्पन्न भएको छ । निकिता सांग्रिला होटलका सञ्चालक प्रशिद्धबहादुर पाण्डेकी छोरी हुन् । प्रभासमान नेपाल तरुण दलका केन्द्रीय पार्षद् हुन् ।
प्रभासमान तथा निकिताको विवाह भने आगामी फागुन महिनामा मात्र हुनेछ । ‘असारमा अलि हतार हुने भएकाले हामीले छोराको विवाह फागुनलाई सारेका हौं, प्रभासमानकी आमा सिर्जना सिंहका अनुसार फागुनको कति गते विवाह गर्ने भन्ने चाहिँ निश्चित गर्न बाँकी छ । ‘छोराले प्रेम विवाह गर्न लागेको हो,’ आमा सिंहले भनिन्– ‘उनीहरू विगत केही समयदेखि प्रेममा रहेछन् ।’ प्रभासमान र निकिताले हिन्दू संस्कृतिअनुसार विवाह गर्नेछन् ।
प्रभासमानले अष्ट्ेरलियाको सिड्नी युनिभर्सिटीबाट पोलिटिकल इकोनोमीमा स्नातकोत्तर गरेका छन् भने निकिताले अमेरिकाको वासिङ्टन कलेजबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेकी छिन् । प्रभासमान यतिबेला नीति फाउन्डेसनमा रिसर्च कन्सल्टेन्टका रूपमा समेत कार्यरत छन् । विवाहपछि पनि प्रभासमान तथा निकिता काठमाडौंमै रहने निकटतम सूत्रहरू बताउँछन् ।
लगनगाँठो कस्दै करण र विधात्री
युवा उद्यमी करण चौधरी विवाह बन्धनमा बाँधिँदै छन् । सिजी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक भएकाले पनि उनको विवाहले चर्चा पाएको छ । करणले झापा बिर्तामोड स्थायी घर भएकी विधात्री पोखरेलसँग अन्तर्जातीय विवाह गर्न लागेका हुन् । करण स्वर्गीय लुनकरणदास चौधरीका नाति तथा अरुण चौधरीका जेठा छोरा हुन् ।
असार २६ गते होटल होल्टी क्राउन प्लाजामा करण र विधात्रीबीच लगनगाँठो कसिनेछ । अहिले चौधरी मात्र होइन, पोखरेल परिवारसमेत विवाहको तयारीमा जुटेको छ । करण भन्छन्– विवाह समारोहलाई भव्य बनाउन सक्रिय छु । करणको विवाहमा छिमेकी भारतबाट समेत व्यवसायीहरू आउने बताइएको छ ।
विधात्री पोखरेल मोडलिङमा रुचि राख्छिन् । ललितपुरको झम्सिखेलस्थित एक कफीसपमा करण र विधात्रीबीच पहिलो भेट भएको थियो । करणका अनुसार उनले नै विधात्रीसमक्ष प्रेमप्रस्ताव राखेका हुन् । त्यसपछि हामीबीच झन्डै ४ वर्ष अफेयर चल्यो । प्रेमलाई विवाहमा बदल्न केही अप्ठेरो पनि थियो । हामी दुवैले परिवारमा कुरा राख्न सकिरहेका थिएनौं । पछि बिस्तारै मैले घरमा कुरा राखे, परिवारले हुन्छ भनेपछि हामी अगाडि बढ्यौं । करणका अनुसार उनले विधात्रीसमक्ष विवाहको प्रस्ताव राखेको भने आठ महिना मात्र भयो । त्यसपछि करण परम्पराअनुसार केटी हेर्न विधात्रीको घर पुगेका थिए ।
व्यवस्थापनमा एमबीए गरेका करण तथा बीबीएस गरेकी विधात्रीबीच गत फागुन १० गते इन्गेजमेन्ट भएको थियो । विवाहलगत्तै करण र विधात्री रारा तथा फोक्सुन्डो ताल क्षेत्रमा हनिमुन मनाउने योजनामा छन् ।