साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री जुही चावलाले अघिल्लो साता काठमाडौं भ्रमण गरेर मुम्बई पुगेपछि एउटा सामूहिक तस्बिर ट्वीट गरिन् । काठमाडौंमा खिचिएको उक्त तस्बिरमा जुहीसहित पाँच जनाले आफ्नो मुख रुमाल तथा मास्कले छोपेका छन् ।
तस्बिरसँगै जुहीले लेखेकी छिन्– ‘काठमाडौंमा कार पर्खने क्रममा....कति धेरै धुलो, हावामा पेट्रोल र डिजेलको धुवाँ । त्यसैकारण हामीले अनुहार छोप्नु पर्यो । यहाँका बासिन्दाहरू प्रत्येक दिन सर्जिकल मास्क लगाएर हिँडन् बाध्य छन् ।’ जुहीको यो स्टाटसमा सयौं प्रतिक्रिया, सयौं रिट्वीट तथा हजारौं लाइक आएका छन् ।
गायक सञ्जय श्रेष्ठले उक्त ट्वीटलाई स्क्रिनसट गर्दै फेसबुकमा लामै स्टाटस लेखेका छन् । गायक श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयरलाई सम्बोधन गर्दै लेखेका छन्–‘नायिका जुही चावलाले समेत काठमाडौंका बारेमा यसरी यथार्थ बोल्दैछिन् । मेयर ज्यू, तपाईंको निन्द्रा कहिले खुल्ने ? खै सफा काठमाडौं ? किन उठ्दैन काठमाडौंको फोहोर समयमै ? खै ठेकेदारलाई कारबाही ? खै त प्रदूषणले भरिएको सवारीलाई कारबाही ? प्रश्न त अनेक छन्, तर खै किन हुन्न समस्या समाधान ?