साप्ताहिक संवाददाता
उखरमाउलो गर्मी छ । त्यसमाथि सहरको धूलो, धूवाँ, प्रदूषण उस्तै छ । नियमित कामको तनावबाट केही दिन रिफ्रेस हुन कहाँ जाने ? काठमाडौं उपत्यका वरपरका डाँडाकाँडाहरूमा केही त्यस्ता रिसोर्ट छन्, जहाँ गएर गर्मी तथा प्रदूषण छल्न सकिन्छ । थोरै खर्चमा रमणीय वातावरणमा आफ्नो समय बिताउन चाहन हो भने यी गन्तव्यमा पुग्न सकिन्छ ।
पानोरमा भ्यू–टावर रिसोर्ट, रानीकोट
काठमाडौंबाट २० किलोमिटरको दूरीमा छ, भक्तपुर रानीकोटस्थित पानोरामा भ्यू–टावर रिसोर्ट । यहाँबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्ेर, धौलागिरि तथा लाङटाङजस्ता ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल अवलोकन गर्न सकिन्छ । यहाँ स्थानीय कुखुरा तथा खसीको मासु उपलब्ध हुन्छ ।
एकैपटक ६० जनालाई सेवा प्रदान गर्न सक्छौं– पानोरमा रिसोर्टका सञ्चालक पीपी थुलुङ भन्छन्— अहिले हामीकहाँ सुविधासम्पन्न १२ वटा टेन्ट तथा दुईवटा आकर्षक कोठा छन् । यहाँ एक रात बसेको र भोलिपल्टको ब्रेक फास्टका लागि प्रतिव्यक्ति १ हजार ८ सय रुपैयाँ तिर्नुपर्छ ।