सहरमा डाक्टर गोविन्द केसीको चर्चा छ । यसलाई संयोग नभनेर के भनूँ म ? जतिबेला मलाई बिसन्चो हुन्छ, त्यतिबेला उनकै चर्चा चल्छ । कान्तिपुरमा गोविन्द केसीबाहेक अरू कोही छैनन् । डाक्टर साहेबहरू गोविन्द केसीको समर्थन गर्छन्, तर डा. केसीको समर्थनमा न त एक छाक क्लिनिक छाड्न चाहन्छन् न एक थाल भात । आफूलाई परिवर्तनवादी भन्नेहरूले डा. केसीलाई नैतिक र शारीरिक समर्थन दिएको भए अहिलेसम्म स्वास्थ्य क्षेत्रको रूपान्तरण भैसकेको हुन्थ्यो । ती केसी रहने थिएनन् । गोविन्द मात्र हुने थिए ।
कान्तिपुर गोविन्द केसीजस्ताको सहर पनि होइन । कान्तिपुरमा विकासको नाममा अर्बौं अर्ब खर्च भएको कागजमा देखिए पनि संसारका अरू सहरको जस्तो यसको विकास भएको छैन । विकासका काम नभएसम्म सरकारी रकममा भ्रष्टाचार भएको प्रमाणित हुँदैन । पैसा र कागजमा हुने विकासको छानबिन गर्न अख्तियार नै पर्याप्त छ । किनभने अख्तियारी र सरकारी दुवै थरी कर्मचारी एउटै राजनीतिक स्रोतबाट निस्किएका शक्ति हुन् । आज एउटाले पैसामा भ्रष्टाचार गर्छ, अर्कोले कागजमा छानबिन । भोलि अर्कोले कागजमा छानबिन गर्छ, अर्कोले पैसामा भ्रष्टाचार । खास विकासमा भ्रष्टाचार नभएसम्म लोकपालहरू चाहिँदैनन् ।
यतिबेलासम्म काठमाडौं चिसो छ । यहाँको चिसोको तुलना अन्तको चिसोसँग हुनै सक्दैन । कान्तिपुरको राजनीति पुसमा तात्छ, असारमा सेलाउँछ । कान्तिपुरको राजनीतिको तातोको तुलना अन्यत्रको तातोसँग हुन सक्दैन । पहिले यहाँका राजनीतिज्ञ खुलेआम दिल्ली जान्थे । अहिले कसैलाई नबताई जान्छन् । दिल्ली भनेको दिल्ली हो । यहाँको तरिका जानेन भने मानिसहरू सिल्ली पनि हुन सक्छन् । तरिका नजानेकैले कान्तिपुरमा राजनीति गर्ने कतिपय मानिस सिल्ली भएका छन् । कान्तिपुर र काबुल, ढाका र कोलम्बो, इस्लामावाद र माले— अर्थात् दक्षिण एसियाली क्षेत्रका यी कुनै पनि राजधानी सहर दिल्लीवाट टाढा छैनन् । एक घण्टादेखि सात घण्टासम्म दूरीका हवाई मार्गका सीमाभित्र पर्ने सहर मात्र हुन् यी । यी सहरमा पाइने सामान र तिनका उपभोक्ताका रुचि पनि उस्तै छन् । लगाउने पनि उस्तै–उस्तै हो, तैपनि यी सहरका बीच निकै कम सामीप्य छ । दिल्लीको जस्तो ट्रान्सपोर्ट र दिल्लीको जस्तो एयरपोर्ट अन्य कुनै पनि राजधानीमा छैन ।
एयरपोर्टकै कुरा गर्दा नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टले प्राग्–ऐतिहासिक प्रवेश नाकाको अवस्थाबाट मुक्ति पाउन सकेको छैन । कान्तिपुरबाट बाहिर जाँदा र आउँदा निकै दु:ख उठाउनुपर्छ मानिसले । चीनसँग व्यापार र पारवहन सन्धि भए पनि त्यो गोर्खालीका लागि ल्हासा जाने कुतीको बाटो हो । कान्तिपुर विमानस्थलका आधा दर्जन अध्यागमन काउन्टरले हरेक दिन हजारभन्दा बढी नेपाली पासपोर्टधारीका गमनपत्रमा छाप लगाउनुपर्छ । त्यत्तिकै संख्यामा विदेशी पासपोर्टको जाँच–पड्ताल गर्नुपर्छ । छाप लगाउँदा–लगाउँदै छापदानीको मसी सकिन्छ । विमान उड्ने समय गुज्रिसक्दा पनि गमनपत्रमा छाप लगाई सकिएको हुँदैन । कनेक्सन फ्लाइट छुट्ने पिरले पर्यटकहरू आफ्नै कपाल भुत्ल्याउन थाल्छन् । त्यसले हाम्रो मानसिकतामा कुनै फरक ल्याउन सक्दैन ।
यता आएर कान्तिपुरको विमानस्थलमा सुरक्षा सतर्कता थपिएको छ । पहिलो चरणमा सामानहरूको एक्सरे जाँच, दोस्रो चरणमा कोट, ज्याकेट र जुत्ताको एक्सरे जाँच, तेस्रो चरणमा जीउज्यानको छामछुम जाँच, चौथो चरणमा विमानतर्फ जाने ढोकामा फेरी छामछुम जाँच र पाँचौं चरणमा दिल्ली र भारतका अन्य सहरहरूका लागि विमान चढ्ने बेलामा गरिने अन्तिम पटकको भारी–भरकम सेक्युरिटी जाँच । यी जाँचहरू देखेर कसैले नेपाललाई ‘दि मोस्ट डेन्जरस टेरोरिस्ट कन्ट्री’ भन्यो भने कुनै आश्चर्य हुुनेछैन । तैपनि विमानस्थलमार्फत हुने अपराध कर्ममा कमी आएको छैन ।
कान्तिपुर जाडो–गर्मी दुवै मौसममा रमाइलो छ । सहर महँगो छ । महँगो भए पनि रत्नपार्कमा सस्तो खोज्नेहरूको ठूलो भीड लाग्छ । सहरको साइजको हिसाबले कान्तिपुरको भीडको तुलना कसैसँग गर्न सकिँदैन । कान्तिपुरको माइक्रो र टेम्पोमा चौबीसै घण्टा भीड लाग्छ । धक्का–मुक्का र छेडखानी चल्छ । कतिपय समयमा त झगडा गर्ने मानिस मात्र भेटिन्छन् । अस्पतालमा पुर्जी बनाउनेले दस रुपैयाँको पेस्की टिप्स लिन्छ र गोविन्द केसीको अनुहार सम्भिँmदै भित्तामा झुन्डिएका माक्र्स बाबाको तस्बिरलाई नमस्कार गर्छ । डाक्टरले क्लिनिकमा बाहेक अस्पतालमा भेट्न खोज्दैन । रगत जँचाउन छोरी–ज्वाइँको प्याथोलोजीको सिफारिश पक्कै गर्छ । अरू देशमा जे भए पनि सरकारी अस्पताल छ र सेवा पनि छ । कान्तिपुरमा जस्तो सेवा र उपचार दुवै नभएको सरकारी अस्पताल संसारमा कतै छैन होला ।
कान्तिपुर छिटो सुत्छ र छिट्टै ब्यँुझिन्छ । मध्यरातसम्म क्लबहरूमा स्वतन्त्रतापूर्वक नाच्न स्वतन्त्र छैन कान्तिपुर । कान्तिपुरमा स्वतन्त्रताका सीमाहरू तोकिएका छन् । सहरमा निषेधको संस्कृति कस्सिँदै गएको छ ।