साप्ताहिक संवाददाता
मिस नेपालका उपाधि विजेताहरू चलचित्रमा खासै जम्न सकेका छैनन् । रुबि राणादेखि निकिता चाण्डकसम्मले नेपाली चलचित्रमा करियर बनाउने प्रयास गरिरहेका छन्, यद्यपि थोरैलाई मात्र सफलता हात लागेको छ । मलिना जोशी मात्र त्यस्ती मिस नेपाल हुन्, जसले संख्यात्मक रूपमा बढी चलचित्रमा अभिनय गरेकी छिन्, यद्यपि उनले अभिनय गरेका कुनै पनि चलचित्र व्यवसायिक रूपमा सफल भएका छैनन् ।
मलिनापछि धेरैबाट आशा गरिएकी मिस नेपाल हुन्– सृष्टि श्रेष्ठ, जो पहिलो चलचित्र ‘गाजलु’ बाट दर्शकको मनमा बस्न सफल भइन् । गाजलुपछि बलिउड पुगेर केही हिन्दी गीतका म्युजिक भिडियोमा अभिनय गर्न भ्याएकी सृष्टि झन्डै दुई वर्षपछि पुन: एक पटक दर्शकमाझ आउँदै छिन् । चलचित्र ‘रोमियो एन्ड मुना’ मा मुनाको भूमिका निर्वाह गरिरहेकी सृष्टिले यो चलचित्रमा सोझी गाउँले युवतीको भूमिका निर्वाह गरेको बताएकी छिन् ।
‘गाजलु’ मा पनि उनी सोझी युवतीकै भूमिकामा थिइन् । दुई वर्षपछि उस्तै भूमिकामा आउने कारणका सम्बन्धमा राखिएको जिज्ञासामा सृष्टिले ‘सोझी युवती’ भए पनि दुवै चलचित्रको कथा, प्रस्तुति तथा पृष्ठभूमि फरक भएको बताइन् । सृष्टिको यो चलचित्र साउन ११ गते प्रदर्शनमा आउँदैछ ।