उद्योगपति करण चौधरी तथा मोडल विधात्री पोखरेल गत मंगलबार एक समारोहविच वैवाहिक बन्धनमा बाँधिएका छन् । करण र विधात्रीबीच लामोसमयदेखि रहँदै आएको प्रमेसम्बन्ध वैवाहिक बन्धनमा परिणत भएको हो । विवाह समारोह होटल सोल्टी क्राउन प्लाजामा नेपाली परम्पराअनुसार चलेको थियो ।
परम्पराअनुसार करणले विधात्रीको लगनगाँठो समाएर जग्गे मात्र घुमेनन्, सिन्दूर हाल्ने, माहुर ख्वाउने, जग्गे घुम्ने सबै प्रक्रिया पूरा गरे । यद्यपि बेहुली अन्माउने कार्य भने बुधबार मात्र गरिएको थियो ।
मंगलबार साँझ सोल्टी होटलमा वरवधूलाई बधाई दिनेहरूको घुइँचो लागेको थियो । विवाह समारोहमा आउने जानेहरूको भीडले त्रिपुरेश्वरदेखि कलंकीसम्मको बाटो राति अबेरसम्म जाम थियो ।
विवाह समारोहमा करिव ४ हजारको सहभागिता रहेको उद्योगपति विनोद चौधरीले बताए । चौधरी परिवार ठूलो संख्यामा आएका नेतादेखि व्यावसायीसम्मलाई स्वगत गर्नमै व्यस्त थियो । विवाहमा वरवधूलाई आशीर्वाद दिन पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, कांग्रेस नेता रामचन्द्र पौडेल, तथा शशांक कोइराला, नेकपाका महासचिव विष्णु पौडेल, नेपाल सरकारका उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल तथा उपेन्द्र यादव आदि नेताहरूसमेत उपस्थित थिए ।