साप्ताहिक संवाददाता
इन्टरनेटमा केही कुरा खोज्नुपर्यो भने हामी गुगललाई सम्झिन्छौँ, तर आखिर गुगल के हो त ? गुगल प्रविधिसँग सम्बन्धित एउटा अमेरिकी बहुराष्ट्रिय कम्पनी हो जसले इन्टरनेटसँग सम्बन्धित सेवा एवं उत्पादनमा काम गर्छ, जसमा अनलाइन विज्ञापनका प्रविधि, सर्च इन्जिन, क्लाउड कम्प्युटिङ, सफ्टवेरदेखि हार्डवेयरसम्म पर्छन् । हेरौं गुगलका केहि प्रविधि (उत्पादन) जसले हामीलाई इन्टरनेटको संसारमा काम गर्न सहजता प्रदान गर्दै आएका छन् ।
गुगल सर्च
गुगल भन्नेबित्तिकै मानिसको दिमागमा आउने चिज नै सर्च अर्थात् खोजी हो । इन्टरनेटमा केही कुरा खोज्नुपर्यो भने गुगलको वेबसाइटमा गएर आफ्नो खोजको विषयसँग सम्बन्धित उपयुक्त शब्द टाइप गरिन्छ । संसारमा इन्टरनेट चलाएर पनि गुगल सर्चको प्रयोग नगर्ने मानिस विरलै होलान् ।
के–के खोज्न सक्छ गुगलले ?
इन्टरनेटमा भएका सबै कुराको जानकारी गुगलसँग छ भन्दा अत्युक्ति नहोला । गुगल इन्टरनेटको सबैभन्दा ठूलो सर्च इन्जिन हो जसमा दैनिक खोजको संख्या ३ अर्बभन्दा बढी छ । गुगलले हामीले खोज्न चाहेको शब्दअनुसार इन्टरनेटमा रहेका लेखहरू त दिन्छ नै, त्यसका अतिरिक्त भिडियो, तस्बिर, नक्सा, समाचार आदिको पनि खोजि गर्ने सामथ्र्य राख्छ ।
गुगल डक्स, सिट्स र स्लाइड्स
कम्प्युटर प्रयोग गर्ने व्यक्तिले माइक्रोसफ्ट अफिस प्याकेज वा खुला स्रोत सफ्टवेयरको अफिस प्याकेजअन्तर्गत डकुमेन्ट्स (वर्ड), स्प्रिडसिट (एक्सल) तथा प्रिजेन्टेसन (पावरपोइन्ट) को प्रयोग अवश्य गरेको हुन्छ । अफलाइनमा कार्य गरिने यी प्याकेजहरूमा एक कम्प्युटरबाट अर्कोमा सार्दा पेनड्राइभजस्ता स्टोरेज सामग्री प्रयोग गर्नुपर्ने हुन्छ अथवा इमेल प्रयोग गर्नुपर्ने हुन्छ । अझ एउटा फाइलमा एकैपटक एकभन्दा बढी व्यक्तिले लेख्नुपर्यो भने असम्भव हुन्छ ।
यसकै सहजताका लागि गुगलको प्रविधि गुगल डक्स, गुगल सिट्स र गुगल स्लाइड्स उपलब्ध छन् । डकुमेन्ट्सका लागि गुगल डक्स, स्प्रिडसिट्सका लागि गुगल सिट्स तथा प्रिजेन्टेसनका लागि गुगल स्लाइड्स प्रयोग गर्न सकिन्छ ।
इन्टरनेटमा रहेर काम गर्नुपर्ने यी सेवामा एकै समय एकभन्दा बढी व्यक्तिले काम गर्न सक्छन् भने इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट जुनसुकै समय पनि यी फाइल एक्सेस गर्न सकिन्छ । त्यस्तै यी फाइलहरू एडिट गरेपश्चात् आफैं ‘सेभ’ हुन्छन्, जसका कारण सेभ गर्न बिर्सदा हुने क्षतिको जोखिम पनि रहँदैन । आफूले प्रयोग गरिरहेको कम्प्युटर वा फोन बिग्रिए पनि यी फाइल सुरक्षित रहन्छन् ।
जिमेल
जिमेल गुगलले उपलब्ध गराउने संसारकै सबैभन्दा ठूलो इमेल सेवा हो । जिमेलमा प्रति एकाउन्ट १५ गिगाबाइटसम्मको स्टोरेज उपलब्ध हुन्छ भने २५ मेगाबाइटसम्मको फाइल एकै पटक पठाउन सकिन्छ । जिमेल गुगल प्लेस्टोरबाट मोबाइलमा १ अर्ब पटक डाउनलोड भएको पहिलो एप समेत हो ।
गुगल क्यालेन्डर
सन् २००६ मा सुरु भएको गुगल क्यालेन्डर अहिले एन्ड्रोइडदेखि आइओएससम्ममा पनि उपलब्ध छ । मानिसको समयको राम्रोसँग व्यवस्थापन गर्ने उद्देश्यले प्रारम्भ गरिएको गुगल क्यालेन्डरले ‘इभेन्ट’ बनाउने सुबिधा दिन्छ भने त्यहाँ इभेन्ट सम्झाउन ‘रिमाइन्डर’ पनि राख्न सकिन्छ । गुगल कन्ट्याक्समा भएका मित्रहरूको जन्मदिन पनि गुगल क्यालेन्डरमा उपलब्ध हुन्छ ।
गुगल ड्राइभ
गुगल ड्राइभ अनलाइनमा आफ्ना तस्बिर एवं बिभिन्न फाइलहरू राख्न सबै भन्दा धेरै प्रयोग हुने साधन हो । गुगल ड्राइभले उपलब्ध गराउने १५ गिगाबाइट अनलाइन स्टोरेजमा आफ्ना सामग्रीहरू राख्न सकिन्छ । यसरी राखिएका सामग्री कुनै पनि स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटरमार्फत जहाँ पनि प्रयोग गर्न सकिन्छ । ड्राइभमा राखिएका सामग्रीहरू इमेलमा एट्याचमेन्ट बिनै अरुलाई डाउन्लोड गर्न, हेर्न दिन सकिन्छ । १५ गिगाबाइट स्पेस थोरै लाग्छ भने पैसा तिरेर अरु स्पेस किन्न सक्ने सुविधा पनि उपलब्ध छ ।
युट्युब
फेब्रुअरी २००५ मा सुरु भएको युट्युबलाइ नोभेम्बर २००६मा गुगलले १६ अर्ब ५० करोड अमेरिकी डलरमा किनेको थियो । भिडिओ सेयर गरिने युट्युबमा भिडियो अपलोड गर्ने, हेर्ने, रेट गर्ने तथा च्यानल सब्स्क्राइब् गर्ने आदि अनेकौं सुविधा उपलब्ध छन् । केही प्रक्रिया पूरा गरेपछि युट्युबले हेरिएका भिडियोलाई पैसासमेत उपलब्ध गराउँछ, जसका कारण कतिपयका लागि युट्युब आम्दानीको राम्रो स्रोत पनि भैरहेको छ ।
गुगल किप
गुगल किपले एकदमै छिटो अनि सहज तवरले नोट राख्ने सुविधा दिन्छ । नोटमा अक्षरहरू, लिस्ट, तस्बिर अथवा ध्वनि पनि राख्न सकिन्छ भने रिमाइन्डर राख्ने सुविधा यसमा पनि उपलब्ध छ । गुगल किपले तस्बिरमा भएका अक्षरहरूलाई पनि अप्टिकल क्यारेक्टर रिकग्निसनमार्फत पढ्न सकिन्छ ।
गुगल फोटो
आफ्नो स्मार्टफोनले तस्बिर खिच्नुहुन्छ ? गुगल फोटो चलाउनुहुन्न भने तस्बिर धेरै भएर फोनको स्टोरेज भरिएर हैरानी त धेरै पटक खेप्नुभएकै होला । गुगल फोटोजले १६ मेगापिक्सेलसम्मका तस्बिर ‘अनलिमिटेड’ रूपमा राख्न स्टोरेज प्रदान गर्छ । त्यस्तै गुगल फोटोजको अर्को विशेषता भनेको यसले दिने ‘सर्च’ हो । उदाहरणका लागि यदि तपाइंले आफ्नो पासपोर्टको तस्बिर खिचेर गुगल फोटोजमा राख्नुभएको छ र ‘पासपोर्ट’ सर्च गर्नुभयो भने तपार्इंको पासपोर्टको तस्बिर सहजै अगाडी आउँछ ।
ब्लगर
ब्लगर गुगलले ब्लग प्रकाशन गर्न उपलब्ध गराउने सेवा हो, जहाँ एउटै ब्लगमा धेरै जनाले योगदान दिन सक्छन् । यी ब्लगहरू गुगलले ब्लगस्पट डट कमको सबडोमेनका रूपमा होस्टिङ गर्छ । ब्लगर अफ्रिकन, अरेबिक, चिनियाँ, हिब्रु आदि कैयौं भाषामा उपलब्ध छ ।
गुगल प्लस
गुगल बज, गुगल फ्रेन्ड कनेक्ट, अर्कुटपछि सामाजिक सञ्जालको रूपमा गुगलले बिकाश गरेको चौथो प्रोजेक्ट हो— गुगल प्लस । यो गुगलको अपेक्षाकृत कम रुचाइएको उत्पादन हो ।