साप्ताहिक संवाददाता
साउन महिनालाई भगवान् शिवको महिनाका रूपमा लिइन्छ । यो महिना भगवान् शिवलाई खुसी पार्न सके अविवाहित महिलाहरूले भने जस्तै श्रीमान् पाउने जनविश्वास छ । पछिल्लो समय महिला मात्र नभएर पुरुषहरूले पनि यो महिना शिवको आरधना गर्ने चलन बढ्दै गएको छ । साउनको सोमबारलाई विशेष दिनका रूपमा हेरिन्छ । यो दिन नदी किनाराबाट जल लिएर शिवलिंगमा चढाउने चलनसमेत छ ।
माइधाम
झापास्थित माइधाम पूर्वको चर्चित शिवालय हो । साउन महिनामा माइ नदीको तीरमा अवस्थित यो धाममा माइ नदीको जल चढाइन्छ ।
पिण्डेश्वर
साउने सोमबारका दिन जल चढाउने महत्वपूर्ण तीर्थका रूपमा धरानस्थित पिण्डेश्वर धाम पनि हो । यहाँ पूर्वी नेपालका मात्र नभएर भारतको पश्चिम बंगाल, सिक्किमदेखि दार्जीलिङसम्मका भक्तजनको भीड लाग्छ । चतराबाट कोसीको जल बोकेर पिण्डेश्वरमा ल्याई चढाउने चलन छ ।
विश्रान्ति
धनकुटाको विश्रान्ती मन्दिर परिसरमा अवस्थित शिवालयमा नजिकैको तमोर नदीको जल चढाउन भक्तहरूको घुइँचो लाग्छ ।
देवघाट
चितवन, नवलपरासी तथा तनहुँको संगमस्थल देवघाट नेपालको ठूलो धार्मिक केन्द्रका रूपमा स्थापित हँुदैछ । नारायणी नदीको किनारमा अवस्थित यो धार्मिक क्षेत्रमा साउनको सोमबार जल चढाउने भक्तजनको ठूलो भीड लाग्छ । यहाँ नारायणी नदीबाट ल्याइएको जल शिवालयमा चढाइन्छ ।
पशुपतिनाथ
साउन महिनामा सबैभन्दा बढी भक्तजन ओइरिने मन्दिर काठमाडौंको पशुपतिनाथ नै हो । पशुपतिनाथमा नेपालका मात्र नभएर भारतलगायत अन्य देशका श्रद्धालु भक्तजनको समेत भीड लाग्छ । सुन्दरीजलबाट ल्याइएको जल पशुपतिनाथमा चढाए पूण्य कमाइने विश्वास रहँदै आएको छ ।
डोलेश्वर महादेव
भक्तपुरस्थित डोलेश्वर महादेवको मन्दिरमा पनि साउने सोमबारका दिन ठूलो भीड लाग्छ । यो मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर मानिन्छ । यहाँ जल चढाउन भारतबाट समेत भक्तजन आउँछन् ।
गोदावरी
कैलालीको गोदावारीमा साउनका सोमबार विशेष घुइँचो लाग्छ । पश्चिम नेपाललगायत भारतका विभिन्न स्थानबाट आएका भक्तालुले शिवालय नजिकको गोदावारी नदीबाट ल्याएको जल चढाउने चलन छ ।