साप्ताहिक संवाददाता
श्याम अर्याल कुशल टेलिभिजनकर्मी तथा सञ्चारकर्मी हुन् । डेढ दशकअघि पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता प्रारम्भ गरेका अर्यालले त्यतिबेला नेपाल टेलिभिजन तथा नेपाल वान टेलिभिजनका लागि पोखरा डटकम शीर्षकको कार्यक्रम तयार पारेका थिए ।
अर्याल पछिल्लो एक दशकयता इमेज च्यानल तथा इमेज एफएममा कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा सक्रिय छन् । अर्यालले पाँच वर्षसम्म तराई टेलिभिजनमा सञ्चालन गरेको चलचित्रसम्बन्धी कार्यक्रम ‘सिल्भर स्क्रिन’ दर्शकले मन पराएका थिए ।
पछिल्लो समय उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने मनोरञ्जनात्मक कार्यक्रम ‘चित्रपट’ तथा इमेज च्यानलमा ‘पेज थ्री’ मार्फत साताको दुई पटक दर्शकमाझ पुगिरहेका छन् । पेज थ्री कार्यक्रम प्रत्येक मंगलबार राति ८ बजेदेखि प्रसारण हुन्छ भने चित्रपट प्रत्येक शनिबार राति ७:२५ देखि प्रसारण भैरहेको छ । रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तुतिमा आफ्नै छवि बनाएका आरजे/भिजे अर्यालले हालै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।