हिन्दू धर्मशास्त्रअनुसार विवाहित महिलाले हातमा लगाउने चुरालाई श्रीमान्को दीर्घायुसँग जोडिन्छ । त्यसैले विवाहित महिलाहरू सकभर हात खालि राख्दैनन् । चुराले महिलाको हातलाई सुन्दर देखाउँछ । साउने सोमबारका दिन प्राय: सबैजसो महिला हरिया चुरा तथा बालाहरूमा सजिएका हुन्छन् ।
इन्द्रचोकस्थित पुख्र्यौली चुरापोते पसलकी सायरा बानुका अनुसार विगत ६–७ वर्षयता दसैं, तीज तथा विवाहको लगनमा जस्तै साउनभरि चुराको व्यापार हुने गरेको छ । साउन आउनुभन्दा एक साताअघि नै साउनका लागि हरिया चुराहरू बिक्री हुन थाल्ने साराले बताइन् ।
हरिया चुराका साथमा पहेंला तथा राता चुराहरू पनि उत्तिकै बिक्री हुने भक्तपुर दरबार स्क्वायरमा पुख्र्यौली व्यापार गर्दै आएका अब्दुल्ला मियाँ बताउँछन् । केही वर्षयता साउनमा तीजकै हाराहारीमा चुरापोतेको व्यापार हुने मियाँले बताए । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोन अनुसारका चुरा किन्न आउनेहरूको भीड पनि त्यत्तिकै हुन्छ । साउने सोमबार आफन्त, दिदीबहिनी तथा साथीहरूलाई पनि चुरा, टीका आदि सौभाग्य सामग्रीहरू उपहारका रूपमा प्रदान गर्न थालिएकाले चुरा पसलको आम्दानी बढ्दो छ ।
चुरा पोतेको क्रेज
सुहागको प्रतीक पोते
विवाहित महिलाहरूका लागि पोतेको महत्व बेग्लै छ । रातो सारीमा हरियो चुरा लगाउँदा महिलाहरूको सौन्दर्य थप वृद्धि हुन्छ । तीज तथा साउने सोमबारका लागि त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडीका साथै डिजाइन–डिजाइनका माला बनाइ लगाउने चलन बढ्दो छ । इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका हसन खान साउनमा पनि दसैं, तीज, विवाहमा जस्तो राम्रो व्यापार हुुन थालेको बताउँछन् ।
मेहन्दीको समय
मेहन्दीलाई सगुन तथा गुडलकका रूपमा समेत लिइन्छ । त्यसैले हरेक शुभ कार्य विवाह, तीज तथा पवित्र महिना साउन भरि नै मेहेन्दी लगाउने चलन छ । मेहन्दी डिजाइनअनुसार विभिन्न नामले चिनिन्छ, जस्तै : भारतीय, अरेबिक, पाकिस्तानी, इन्डो–अरेविक, मोरोक्कन, ग्लिटर, मूगाली, फ्लोरियल, बंगाली आदि । नेपालमा भने भारतीय मेहन्दी बढी चलेको पाइन्छ । नेपालमा भारतीय तथा अरेबिक डिजाइनका मेहन्दी विशेष रोजाइमा पर्छन् भने मेहन्दी तथा फ्लोरल मेहन्दीको क्रेज पनि उत्तिकै छ । महिलाहरू साउनमा आफ्ना हात–खुट्टा मेहन्दीले सजाउँछन् । मेहन्दी डिजाइनरले ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा भनेजस्तो मेहन्दी लगाइदिन्छन् ।