म २५ वर्षको भएँ । मेरो विवाह भएको छैन । मेरो समस्या मेरो लिंगका सम्बन्धमा छ । जन्म हुँदा मेरा दुईवटै अण्डकोष माथि थिए । म ८ वर्षको हुँदा मेरो लिंगको दुइटै अण्डाको अपरेसन गरेर तल राखियो । समय बित्दै गयो र मलाई लाग्यो कि अब बदलिएला । त्यतिबेला मलाई लाग्थ्यो, अपरेशनका कारणले यस्तो भएको होला । अहिले मेरो लिंग र अण्डकोष सामान्य अवस्थामा तीन–चार वर्षको बच्चाको जस्तो सानो छ । सामान्य हुँदा लिंग कतिसम्म सानो हुन्छ ? अहिले मेरो लिंग उत्तेजित हुँदा ३ दशमलव ५ इन्चको मात्र हुन्छ । मैले अहिलेसम्म यौनसम्पर्क गरेको छैन । मेरो लिंगको आकार किन यस्तो भएको होला र यसको कुनै उपचार छ कि ? मैले अहिलेसम्म कुनै चिकित्सकलाई देखाएको छैन, किनभने मलाई थाहा छैन कि कुन चिकित्सकलाई देखाउँदा सही हुन्छ ? मैले पछि यौनसम्पर्क गर्दा कुनै समस्या त आउँदैन ? के कारणले मेरो लिंग तथा अण्डकोष बढ्न नसकेको हो र अब मैले के गर्नुपर्छ ?
-बी.
अण्डकोष के हो ?
अण्डकोष (अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अंग हो । पुरुषमा बन्ने मानव प्रजननकोष जसलाई हामी शुक्रकीट भन्छौं त्यसको उत्पादन यही अंगमा हुन्छ । त्यसका साथै पुरुषत्व प्रदान गर्ने हार्मोन निकाल्ने अंग पनि यही नै हो । यो लिंगको फेदनेर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ । मानिसमा यो दायाँ र बायाँतिर गरी दुईवटा हुन्छन् । अण्डकोषमा शुक्रकीट निरन्तर रूपमा उत्पादन हुन्छन् । सामान्य अवस्थामा पुरुषहरूमा किशोरावस्थामा एकपल्ट वीर्य बन्ने तथा शुक्रकीटको उत्पादन हुने प्रक्रिया सुरु भएपछि सामान्य अवस्थामा जीवन पर्यन्त निरन्तर रूपमा चलिरहन्छ, तर यहाँ बनेका शुक्रकीट परिपक्व भैसकेका हुँदैनन् । अण्डकोषसँगै रहेको अंग epididymis को यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छ, अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता हासिल गर्छ । चरमसुख प्राप्त हुने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य भनिन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् ।
उपचार
सामान्यतया शिशु जन्मदा उसको अण्डकोष पनि अण्डकोष थैलीमा आइपुगेको हुन्छ र नपुगेको भए केही समयमा आउँछ । केही व्यक्तिमा पछिसम्म पनि अण्डकोष थैलीमा झरेको हुँदैन, यसलाई undescended testicle भनिन्छ । कतिपयमा एउटा अण्डकोष मात्र नझरेको हुन्छ । केहीमा भने अण्डकोष झरेको भए पनि माथि जाँघ (तिघ्रा र पेट जोडिएको भाग) तिर जान्छ । यस्तो स्थितिलाई retractile testicle भनिन्छ । अण्डकोष नझरेको स्थितिमा अण्डकोषको टयुमर, अण्डकोष बेह्रिने अनि हर्निया हुने अनि प्रजनन क्षमतामा ह्रास आउने जस्ता समस्या सिर्जना हुने सम्भावना हुन्छ ।
तपाईंले बताउनु भएजस्तै उपचारका लागि आफ्नो स्थानमा नझरेका अण्डकोषका लागि orchioplexy भनिने शल्यक्रिया गरिन्छ । तपार्इंले उक्त शल्यक्रिया गराइसक्नुभएको कुरा पनि उल्लेख गर्नुभएको छ ।
बाल्यकालमै यसको शल्यक्रिया गरेर अण्डकोष थैलीमा राख्न सकिएको स्थितिमा भने प्रजनन क्षमता कायम हुन्छ । शुक्रकीट उत्पादनका लागि हाम्रो शरीरको भन्दा केही कम तापक्रमको आवश्यकता पर्ने भएकाले शरीर वा जाँघमै भएको स्थितिमा अण्डकोषले शुक्रकीट उत्पादन गर्न सक्दैन । यो शल्यक्रिया गर्न जति ढिलो हुन्छ त्यति नै प्रजनन क्षमता कम हुँदै जान्छ । यो शल्यक्रिया विशेष गरी एक वर्षको उमेरभित्र गरिसक्नुपर्छ भनेर सिफारिस गरिएको छ । उमेर दुई वर्षको हुनु भन्दा पहिले गरिएको शल्यक्रियाको नतिजा राम्रो देखिएको छ । दुवै अण्डकोष नझरेको हकमा उपचारपछि ५० देखि ६५ प्रतिशत व्यक्तिमा प्रजनन क्षमता हुने देखिएको छ भने एकमात्र अण्डकोष नझरेको हकमा ८५ प्रतिशत प्रजनन क्षमता हुने देखिएको छ ।
अण्डकोषलाई तल झार्ने शल्यक्रियापछि एक–दुई हप्तामा घाउ निको भएको पक्का गर्न र तल अडयाइन राखेको टाँका हटाउन चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । त्यसपछि यस्तै तीन महिनामा अण्डकोषको अवस्थिति तथा आकार परीक्षण गर्नुपर्छ । उक्त शल्यक्रियापछि अहिले २५ वर्षको हुँदासम्म पनि पक्कै चिकित्सकवाट नियमित परिक्षण गराउनुभयो नै होला, तर तपाईंले त्यसका बारेमा खासै जानकारी दिनुभएको छैन । विरलै भए पनि यस्तो शल्यक्रियाको जटिलता अण्डकोष सुक्नु हो, त्यसबाहेक फेरि पुरानै अवस्थितिमा फर्कने, संक्रमण एवं रक्तश्राव हुनेजस्ता जटिलता हुन सक्छन् । यी कुरा उल्लेख नगर्नु भएकाले यस्ता जटिलता भएनन् भनेर नै बुझेको छु ।
तपार्इंले अण्डकोष तथा लिंग सानो भएको कुरा गर्नुभए पनि तपाईंमा सहायक यौन चिह्नहरू जस्तै कि दाह्री–जुँगा, चौडा छाती, स्वर धोद्रो हुने लक्षण के–कस्तो छ भन्ने कुरा लेख्नुभएको छैन । त्यसबाहेक तपाईंको यौनेच्छा कस्तो छ ? हस्तमैथुन वा यौन सम्पर्क गर्दा चरमसुख प्राप्ति अनि सामान्य रूपमा नै वीर्य स्खलन हुने गरेको छ कि छैन ? तपाईंको यौन विकास कसरी भैरहेको छ भन्ने संकेत यी कुराले पनि गर्छन् । केही अध्ययनले सामान्य अवस्थाको तुलनामा नझरेको अण्डकोष भएको स्थितिमा अण्डकोष तथा लिंगको आकार सानो भएको देखाएको छ । सामान्यत: अण्डकोषको तौल १० देखि १४ ग्राम तथा आयतन ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ । दक्षिण एसियालीहरूको लिंग औसत ४ इन्चको भएको मनिन्छ । यस अर्थमा तपार्इंको लिंग साह्रै सानो होइन ।
अब के गर्ने ?
केही ढिलै भए पनि तपाईंको सन्दर्भमा उपचारको प्रयास गरिएका छन् । अहिले तपाईंको यौनेच्छा तथा यौन सक्षमताका बारेमा त एक हदसम्म तपाईंलाई पनि जानकारी भएकै हुनुपर्छ । प्रजनन क्षमता के कस्तो छ भन्ने निक्र्यौल गर्नु एउटा महत्वपूर्ण पक्ष हो । यसका लागि चिकित्सकीय परीक्षण आवश्यक हुन्छ । प्रजनन अंगमा अन्य केही समस्या छ कि भनेर हेर्नुपर्छ । यसको एउटा महत्वपूर्ण पक्ष वीर्य परीक्षण पनि हो । वीर्य परीक्षणमा तपाईंको शुक्रकीटको संख्या, गतिशीलता, स्वरूपजस्ता कुरा हेरिन्छ, जसले तपाईंमा प्रजनन क्षमता भए–नभएको देखाउँछ । परीक्षणका दौरान तपाईंले आफ्ना चासो खुलेर चिकित्सकलाई भन्न सक्नुपर्छ ।